

काठमाडौं । ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले असोज १४ गते राति करिब १ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा पुगेर ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका थिए।
उनीहरूले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गाली–गलौज गर्नुका साथै धाकधम्की दिएको र हातपातसमेत गरेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोली अस्पतालमा पुगेर चेकजाँच गर्दा पक्राउ परेका तीनै जना घटनामा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



