

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका दुई औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेका औषधिका नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर पूरा नगरेको पाइएपछि ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।
विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न तथा फिर्ता गरिएका औषधिको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ। साथै उल्लेखित ब्याच नम्बरका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ।
विभागका अनुसार बजारबाट फिर्ता गर्न भनिएको पहिलो औषधि विनक्याल (WINCAL) हो। यो क्याल्सियम तथा भिटामिन डी–३ ट्याब्लेट हो। यसको ब्याच नम्बर ०४२.०३५ रहेको छ। उक्त औषधि फार्मोनिक्स लाइफ साइन्सेस प्रालि सुनसरीले उत्पादन गरेको हो। यसको उत्पादन मिति जनवरी २०२६ र म्याद सकिने मिति अगस्ट २०२७ रहेको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त औषधिमा रहेको भिटामिन डी–३ को मात्रा आईपी २०२६ को मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ।
त्यस्तै, क्याल्सिजेन–एफ (CALCIGEN-F) नामक क्याल्सियम तथा कोलेक्याल्सिफेरोल ट्याब्लेट पनि न्यून गुणस्तरको पाइएको छ। यसको ब्याच नम्बर सीभीडी३–३०६ रहेको छ। उक्त औषधि नोभा जेनेटिका प्रालि., खानीखोला–७, नौबिसे, धादिङले उत्पादन गरेको हो। यसको उत्पादन मिति जुलाई २०२५ र म्याद सकिने मिति जुन २०२७ रहेको छ।
विभागका अनुसार क्याल्सिजेन–एफको नमुना परीक्षण गर्दा पनि भिटामिन डी–३ को मात्रा आईपी २०२६ को मापदण्डअनुसार नभएको पाइएको हो।
विभागले दुवै औषधिका उल्लेखित ब्याच नम्बरका उत्पादनको बिक्री वितरण तथा प्रयोग तत्काल रोक्न र बजारमा रहेका औषधि फिर्ता गरी त्यसको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ।




