

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सुलभ फार्मेसीमा औषधि आपूर्तिसम्बन्धी विषयलाई लिएर स्थानीय जनप्रतिनिधि तथा केही सञ्चारमाध्यमबाट औषधि व्यवसायीलाई लक्षित गरी आएका अभिव्यक्तिप्रति नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएको छ।
संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत व्यवसायीलाई ‘माफिया’ र ‘सिन्डिकेटधारी’ जस्ता आरोप लगाउनु तथ्यहीन र आपत्तिजनक भएको जनाएको हो। जनप्रतिनिधिबाटै व्यवसायीका पसल तथा गोदाम कब्जा गर्ने वा ताला लगाउनेजस्ता अभिव्यक्ति आउनु गम्भीर र गैरकानुनी भएको संघको भनाइ छ।
संघका अनुसार औषधि व्यवसाय सामान्य व्यापारिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा हो। प्राकृतिक विपद्, महामारी तथा अन्य विषम परिस्थितिमा समेत निजी क्षेत्रका औषधि व्यवसायीले निरन्तर सेवा दिँदै आएको संघले जनाएको छ।
देशका विभिन्न स्थानमा नागरिकलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन निजी क्षेत्रका व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघले कानुनअनुसार ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमाथि तथ्यहीन आरोप लगाउँदा उनीहरूको सामाजिक प्रतिष्ठामा असर पर्ने बताएको छ।
यस्ता अभिव्यक्तिले व्यवसायी र उपभोक्ताबीच अविश्वास बढ्नुका साथै औषधि व्यवसायप्रतिको जनविश्वासमा समेत नकारात्मक प्रभाव पर्न सक्ने संघको भनाइ छ।
संघले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै व्यवसायीका लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु र उनीहरूको सुरक्षा सुनिश्चित गर्नु जनप्रतिनिधिको पनि जिम्मेवारी भएको जनाएको छ।
जनप्रतिनिधिले व्यवसायीलाई नाफाखोरका रूपमा मात्र चित्रण गर्ने तथा पसल वा गोदाम कब्जा गर्ने वा ताला लगाउनेजस्ता अभिव्यक्ति दिने प्रवृत्तिले निजी क्षेत्रको लगानी वातावरणमा नकारात्मक असर पार्न सक्ने संघले चेतावनी दिएको छ।
संघले सञ्चारमाध्यमलाई पनि व्यावसायिक निष्पक्षता र तथ्यपरकता कायम राख्दै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। कुनै एक पक्षको भनाइलाई मात्र आधार नबनाई सम्बन्धित सबै पक्षसँग सत्यतथ्य बुझेर समाचार प्रकाशन गर्न संघले आग्रह गरेको हो।
त्यस्तै, जनप्रतिनिधिलाई व्यवसायीप्रति मर्यादाविपरीतका अभिव्यक्ति नदिन र उत्पन्न समस्या धम्की तथा दबाबबाट नभई आपसी संवाद, समन्वय र सहकार्यबाट समाधान गर्न संघले अपिल गरेको छ।
प्रेस विज्ञप्तिमा संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले हस्ताक्षर गरेका छन्।



