काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले एचआईभी संक्रमण रोकथामका लागि वर्षमा दुई पटक लगाइने औषधि लेनाकापाभिरको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै कम आय भएका देशहरूमा औषधिको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
भारतीय औषधि उत्पादक कम्पनी डा. रेड्डीज ल्याबोरेटरीजले सोमबार एफडीएबाट उक्त स्वीकृति प्राप्त भएको घोषणा गरेको हो । कम्पनीले एचआईभी रोकथामका लागि प्रयोग हुने लेनाकापाभिरको जेनेरिक संस्करण उत्पादन गरिरहेको छ । विश्वव्यापी स्वास्थ्य पहल युनिटाइडले पनि यसलाई कम मूल्यमा उपलब्ध गराउने सम्भावनाबारे जानकारी दिएको छ ।
सन् २०२५ सेप्टेम्बरमा डा. रेड्डीज, युनिटाइड, अफ्रिकी स्वास्थ्य अनुसन्धान संस्था विट्स आरएचआई र क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभ (सीएचएआई) बीच भएको मूल्य सम्झौताअनुसार उक्त जेनेरिक औषधि १२० देशमा प्रतिव्यक्ति वार्षिक ४० अमेरिकी डलरमा उपलब्ध गराइनेछ ।

डा. रेड्डीज फार्मास्युटिकल सर्भिसेज तथा एपीआईका कार्यकारी प्रमुख दीपक सप्राले यसलाई गौरवको क्षण भएको बताएका छन् । उनले लामो समयसम्म प्रभाव रहने र सुईमार्फत दिइने जटिल औषधि लेनाकापाभिरलाई किफायती मूल्यमा विकास तथा उत्पादन गर्न वैज्ञानिक क्षमता र उत्पादनसम्बन्धी विशेषज्ञता आवश्यक परेको बताएका छन् ।
युनिटाइडका कार्यकारी निर्देशक फिलिप ड्युनेटनले संस्थाले प्रारम्भिक चरणमा जोखिम उठाएर गरेको लगानीले वैज्ञानिक उपलब्धि र त्यसको वास्तविक पहुँचबीचको समय घटाउन सहयोग गरिरहेको बताएका छन् ।
लेनाकापाभिर अमेरिकी औषधि कम्पनी गिलियडले विकास गरेको औषधि हो । ठूला क्लिनिकल परीक्षणमा ९९.९ प्रतिशतभन्दा बढी प्रभावकारिता देखिएपछि सन् २०२५ जुनमा यसलाई एचआईभी रोकथामका लागि स्वीकृति दिइएको थियो । वर्षमा दुई पटक मात्रै लगाउनुपर्ने यो सुईले एचआईभी संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दैनिक रूपमा सेवन गर्नुपर्ने चक्कीको तुलनामा लेनाकापाभिर एचआईभी रोकथामको प्रभावकारी विकल्प मानिएको छ । दैनिक सेवन गरिने एचआईभी प्रि–एक्सपोजर प्रोफिलेक्सिस (प्रिइपी) चक्कीलाई अमेरिकामा सन् २०१२ मा स्वीकृति दिइएको थियो । तर, यसको प्रभावकारिताका लागि नियमित सेवन आवश्यक हुन्छ ।
यद्यपि, लेनाकापाभिरको उच्च मूल्य यसको विश्वव्यापी पहुँच विस्तारमा चुनौती बन्दै आएको थियो । अमेरिकामा यसको वार्षिक मूल्य करिब २८ हजार अमेरिकी डलर पर्छ । स्वास्थ्य बीमाले बिरामीको खर्च केही घटाए पनि औषधिको मूल्य निकै महँगो छ ।
एचआईभीले पछिल्लो चार दशकमा विश्वभर चार करोडभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यस्तो अवस्थामा सस्तो जेनेरिक औषधि उपलब्ध हुनुले एचआईभी रोकथाम अभियानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
गिलियडले सन् २०२४ को अन्त्यतिर लेनाकापाभिर उत्पादनका लागि छवटा जेनेरिक औषधि उत्पादक कम्पनीलाई स्वैच्छिक लाइसेन्स दिएको थियो । डा. रेड्डीज पनि उक्त सूचीमा समावेश छ ।
युनिटाइडका अनुसार जेनेरिक औषधि बजारमा आउनुअघि नै अफ्रिकाका १० प्रारम्भिक देशमा एक लाख २५ हजारभन्दा बढी मानिसले गिलियडको लेनाकापाभिर प्रयोग गर्न सुरु गरिसकेका छन् । डा. रेड्डीजका अनुसार अमेरिकी एफडीएको पछिल्लो स्वीकृति ‘प्रेसिडेन्ट्स इमर्जेन्सी प्लान फर एड्स रिलिफ’ (पेप्फार) कार्यक्रमअन्तर्गत प्रदान गरिएको हो ।







