

कैलाली – गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले अस्पतालकै फार्मेसीबाट औषधि पाउन नसक्ने समस्या भोगिरहेका छन्। फार्मेसीमा आवश्यक औषधि नहुँदा बिरामी र आफन्तहरू चिकित्सकले लेखिदिएको औषधि किन्न अस्पतालबाहिरका मेडिकलमा पुग्नुपर्ने अवस्था छ।
अत्तरियाका नवराज भट्टले अस्पतालको फार्मेसीबाट औषधि लिन चार पटकसम्म प्रयास गरे। तर, हरेक पटक औषधि उपलब्ध नभएको भन्दै उनलाई फर्काइयो। ‘चार पटकसम्म अस्पतालको फार्मेसी पुगेँ, तर औषधि छैन भन्दै फर्काइयो,’ उनले भने, ‘अस्पतालमा उपचार हुन्छ, तर औषधि किन्न बाहिर जानुपर्ने अवस्था छ।’
धनगढी–१३ का रामकृष्ण चौधरी पनि आफन्तको उपचारका लागि गेटा पुगेका थिए। चिकित्सकले औषधि लेखिदिएपछि अस्पतालकै फार्मेसीमा खोज्दा नपाएपछि उनले बाहिरको मेडिकलबाट औषधि किन्नुपर्यो। ‘गेटामै उपचार र औषधि दुवै पाइन्छ भनेर आएका थियौँ,’ उनले भने, ‘तर औषधि किन्न बाहिर जानुपर्यो।’
नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा आफ्नै फार्मेसीबाट आवश्यक औषधि उपलब्ध हुन नसक्दा बिरामीहरू थप झन्झट व्यहोर्न बाध्य भएका छन्। अस्पतालका एक अधिकारीका अनुसार औषधि आपूर्तिमा देखिएको समस्या पुरानो सप्लायर्ससँगको सम्झौता सकिएपछि सुरु भएको हो।
करिब दुई वर्षअघि भएको सम्झौताको अवधि सकिएपछि पुरानो सप्लायर्सले पुरानै मूल्यमा थप औषधि उपलब्ध गराउन नसक्ने जानकारी गराएको ती अधिकारीले बताए। त्यसपछि नयाँ टेन्डर प्रक्रिया अघि नबढ्दा अस्पतालमा औषधि आपूर्ति प्रभावित भएको उनको भनाइ छ।
‘अहिले सामान्य ज्वरोका औषधिदेखि गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक पर्ने औषधिसम्मको अभाव छ,’ ती अधिकारीले भने, ‘फार्मेसीमा औषधिको उपलब्धता निकै कमजोर छ।’
तर, अस्पतालका निर्देशकसमेत रहेका विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले भने फार्मेसीमा औषधिको चरम अभाव रहेको कुरा स्वीकार गरेनन्। ‘एउटा औषधि नहुनुलाई अभाव भन्न मिल्दैन,’ उनले भने।
स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन हुँदै आएको गेटा अस्पताल साउनदेखि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालनमा आएको हो। शिक्षण अस्पतालका रूपमा सञ्चालन सुरु भइसके पनि विश्वविद्यालयले आवश्यक औषधि खरिदका लागि अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन। त्यसको प्रत्यक्ष असर अस्पतालको फार्मेसीमा देखिएको छ।



