
काठमाडौं, १४ जेठ । स्वास्थ्य बीमा बोर्डले हठात रुपमा निजी स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा बन्द गरेपछि ती अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत बिरामी समस्यामा परेका छन् ।
निजी स्वास्थ्य संस्थाको अरबौं पैसा शोधभर्ना भुक्तान गर्न बाँकी रहेका बेला बोर्डले एक सूचना जारी गरि निजी स्वास्थ्य संस्थामा उपलब्ध स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि समस्या सिर्जना भएको हो । प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसियसनका अध्यक्ष प्रा.डा ज्ञानेन्द्रमान सिंह कार्कीले आफुहरुलाई कुनै पूर्वसूचना नदिइकन बीमा कार्यक्रम रोकिएको प्रतिक्रिया दिए ।
‘हामीले ठूलो रकम पाउन बाँकी रहँदा समेत सरकारी कार्यक्रम चलाउँदै आएका थियौं, तर, सरकारले एकपटकपनि छलफल गर्न उचित नठान्नु दुर्भाग्यपूर्ण छ ।’ डा. कार्कीले भने ।
उनका अनुसार बीमा बोर्डको हठात निर्णयका कारणले निजी मेडिकल कलेजहरुमा स्वास्थ्य बीमाका बिरामीलाई सहजिकरण गर्नका लागि खटाइएका करिब २ हजार मानिस बेरोजगार भएका छन् । वैकल्पिक व्यवस्था गर्नुका साटो एकतर्फी रुपमा सरकारले निर्णय गर्नुले बिरामीका साथै नयाँ सिर्जना भएका रोजगारीपनि गुम्ने अवस्था आएको डा. कार्कीको भनाइ छ ।
‘हामीले स्वास्थ्य बीमाको समन्वयका लागि भनेर राखेका कर्मचारीलाई हामीले विकल्प खोज्न भनिसकेका छौं । १-२ जना भएपो व्यवस्थापन गर्ने ? मेरो संस्थामा (बिराट मेडिकल कलेज तथा अस्पताल) मात्र १ सय १० जना कर्मचारी बीमाका लागि राखिएको थियो । अब उनीहरुलाई राख्न सकिँदैन ।’
बीमा रोकिँदा बीमा अन्तर्गत आएर शल्यक्रियाको पालो कुरिरहेका बिरामीहरु पनि मर्कामा परेको उनको भनाइ छ । ‘बीमा दावी गर्नेगरि शल्यक्रियाको पर्खाइ सुचिमा रहेका बिरामीहरुको हालत अब के हुन्छ ?’ उनले प्रश्न गरे ।
स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवा चाहीँ जारी राख्ने तर, नियमित सेवा चाहीँ बन्द गर्ने भनेर गरेको निर्णय पनि अपरिपक्व भएको अध्यक्ष कार्कीको भनाइ छ । ‘आकस्मिक होस् वा नियमित बिरामी होस् त्यसको प्रकृया एउटै भएकाले त्यसलाई छुट्याएर कार्यान्वयन गर्ने कुरा अव्यवहारिक छ ।’ कार्कीले भने ।
स्वास्थ्य बीमा बोर्डले अस्पताललाई शोधभर्ना गर्न बाँकी रकम १८ अर्ब नाघेको छ । सो रकम तिर्न स्रोत व्यवस्था नभएका बेलामा थप व्ययभार नबोक्ने मनशायमा निजी अस्पतालमा बीमा कार्यक्रम रोकिनुले स्वास्थ्य बीमा कार्यक्रम असफलतातर्फ उन्मुख भएको अड्कलबाजी लगाउन थालिएको छ ।


