
काठमाडौँ, २८ वैशाख । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता ले देशव्यापी ‘सरसफाइ सप्ताह–२०८३’ को औपचारिक उद्घाटन गरेकी छन्।
मन्त्री मेहताले आइतबार बिहान वीर अस्पताल पुगेर कार्यक्रमको शुभारम्भ गरेकी हुन्। उद्घाटन अवसरमा उनले सरसफाइकर्मी, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीसँगै सांकेतिक रूपमा सरसफाइ अभियानमा सहभागिता जनाउँदै सरसफाइप्रति सबैको साझा जिम्मेवारी आवश्यक रहेको बताइन्।

कार्यक्रमका क्रममा मन्त्री मेहताले अस्पताल तथा सार्वजनिक संस्थाहरूलाई स्वच्छ, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन सरसफाइ अभियानलाई व्यवहारमै उतार्नुपर्ने आवश्यकता औँल्याइन्।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप मर्यादित, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यसहित सुरु गरेको ‘सरसफाइ सप्ताह–२०८३’ आजदेखि देशभर सञ्चालन भएको हो। उक्त अभियान जेठ १ गतेसम्म विभिन्न सरकारी निकाय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थलहरूमा सञ्चालन गरिने जनाइएको छ।



