
काठमाडौं, २१ बैशाख । उपत्यका बाहिरको मतगणना गर्दासम्म नेपाल चिकित्सक संघको अध्यक्ष पदमा अग्रता लिएका डा. मंगल रावल उपत्यका छिरेसँगै पछि परेका छन् ।
उपत्यकाको ४ सय मत गणना गर्दा मंगल रावलको झिनो मतअग्रतालाई पछि पार्दै ‘प्रजातान्त्रिक’ समुहका डा. बद्रि रिजालले उछिन्न सफल भएका हुन् । ४ हजार ६ सय ४२ मत गणना गर्दा डा. बद्रि रिजालको मत २ हजार २६ रहेको छ भने डा. रावलको २ हजार २४ छ । यो सँगै नेपाल चिकित्सक संघको प्रारम्भिक मतगणनामा अघि आएका डा. मंगल रावलको समुहमा चिसो पसेको छ ।
यसअघि महासचिव पदमा झिनो मतले अघि रहेका डा. कालुसिंह खत्रीलाई पछि पार्दै बद्रि समुहका डा. विश्वराज दवाडीले उछिनेका थिए । हाल उनले मतान्तर फराकिलो बनाउँदै लैजाने संकेत देखाएका छन् । महासचिव पदमा बद्रि समुहका डा. विश्वराज दवाडीले ६३ मतले निकटतम प्रतिद्वन्द्वी डा. खत्रीलाई उछिनेका छन् । डा. दवाडीले १ हजार ७ सय १७ मत पुर्याउँदा डा. खत्री १ हजार ६ सय मतका साथ पछ्याउँदै छन् ।
उपत्यकाको मतगणना हुँदा सम्म प्रदेश उपाध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरुमा पनि बद्रि समुहका उम्मेदवारहरु अगाडी पुगेका छन् भने पछाडी हुने उम्मेदवारहरुले पनि मतान्तर घटाउँदै छन् । यहि रुझान कायम रहेका नेपाल चिकित्सक संघमा पुनः प्रजातान्त्रिक प्यानलकै अधिकांशले जित्न सक्ने देखिएको छ । यद्यपी करिब २ हजार ५ सय मत गणना गर्न बाँकी रहेकाले अहिले नै भन्न सक्ने अवस्था नरहेको मतगणनामा संलग्न अधिकारीहरुले बताएका छन् ।


