
काठमाडौं । नेपाल चिकित्सक संघको कार्यकारिणी समितिका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा मुख्य दुई प्यानलका उम्मेदवारबीच रोचक भिडन्त भैरहेको छ ।
शनिवार रातिदेखि सुरु भएको मतगणनामा अध्यक्षका उम्मेदवार मंगल रावलले झिनो मतका साथ हालसम्म अग्रता कायम गरेका छन् । ४ हजार २ सय ४२ मत गणना गर्दा अध्यक्षमा डा. मंगल रावलले १ हजार ८ सय ९५ मतका साथ अग्रता कायम राखेका छन् भने १ हजार ८ सय १७ मतका साथ डा. बद्रि रिजालले पछ्याइरहेका छन् ।
वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदीको यसअघिको अग्रतालाई पछि पार्दै बद्रि रिजाल समुहका डा. संजीव तिवारीले फराकिलो अग्रता बनाइरहेका छन् । डा. तिवारीले १ हजार ६ सय ६५ मत पाउँदा डा. सुवेदी १ हजार ४ सय ८ मतका साथ पछ्याइरहेका छन् ।
महासचिवमा भने डा. कालु सिंह खत्रीको यसअघिको अग्रतालाई पछि पार्दै बद्री रिजाल समुहका डा. विश्वराज दवाडीले ४ मतले उछिनेका छन् । डा. दवाडीले १ हजार ५ सय ३७ मत पाउँदा डा. खत्री १ हजार ५ सय ३३ मतका साथ पछ्याइरहेका छन् ।


