

काठमाडौं — बेलायतको केन्ट क्षेत्रमा फैलिएको मेनिन्जाइटिस संक्रमणका कारण कम्तीमा २ जनाको मृत्यु भएको छ भने २० जना संक्रमित भएको पुष्टि भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यो संक्रमण तीव्र रूपमा फैलिरहेको जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त संक्रमण एउटा “सुपर–स्प्रेडर” घटनाबाट फैलिएको आशंका गरिएको छ। विशेषगरी विश्वविद्यालयका विद्यार्थीहरू उच्च जोखिममा परेका छन्, जसका कारण शैक्षिक संस्थाहरूमा सतर्कता बढाइएको छ । संक्रमण फैलिन नदिन बेलायती स्वास्थ्य निकायले प्रभावित क्षेत्रमा
हजारौं व्यक्तिलाई खोप उपलब्ध गराउने जनाएको छ । साथै जोखिम समूहलाई तत्काल एन्टिबायोटिक वितरण गर्ने र सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी गर्नेजस्ता उपायहरू लागू गरेको जनाएको छ।
विशेषज्ञहरूका अनुसार मेनिन्जाइटिस संक्रमण विशेषगरी भीडभाड हुने स्थान, जस्तै विश्वविद्यालय र होस्टेलमा छिटो फैलिने सम्भावना हुन्छ । यसले युवावर्गमा गम्भीर स्वास्थ्य जोखिम सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ । विशेषज्ञहरूले लक्षण देखिएमा तुरुन्त उपचार लिन आग्रह गरेका छन् । ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने र घाँटी दुख्नेजस्ता लक्षण देखिएमा जाँच र उपचारमा ढिलाइ नगर्न सुझाव दिएका छन् ।
बेलायतमा देखिएको मेनिन्जाइटिस प्रकोपले विशेषगरी विश्वविद्यालय क्षेत्रमा स्वास्थ्य जोखिम बढाएको छ। समयमै खोप र उपचारमार्फत नियन्त्रण प्रयास भइरहे पनि सतर्कता आवश्यक अत्यावश्यक देखिएको छ ।


