काठमाडौं – नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले बाथरोग जागरण अभियान–२०८२ को अवसरमा दुई जेष्ठ प्राध्यापकलाई सम्मान गर्दै ‘तीर्थानन्द बैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका-८ का अध्यक्ष आशामान संगतले भौतिकशास्त्री प्रा. जयश्री मल्ल अमात्य र गणितज्ञ प्रा. धनकुमारी थापालाई अवार्ड प्रदान गरे। अवार्डसँगै नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर संगीत’ भन्ने नारासहित सांगीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको हो। प्रमुख अतिथि आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको स्वागत गर्दै ८ नम्बर वडामा पनि अभियानलाई सहयोग गर्न तयार रहेको बताए।
सेन्टरका अध्यक्ष डा. विनीत बैद्यले बाथरोगबारे आम नागरिकमा जानकारी पुर्याउन अभियानको महत्व औंल्याए। उनका अनुसार, बाथरोगको लक्षण र पहिचानबारे जनचेतना फैलाउनु आवश्यक छ। अर्का विशेषज्ञ डा. सुदीप कर्माचार्यले बाथरोगले शरीरका विभिन्न भागमा असर गर्न सक्ने भएकाले समयमै उपचार गराउनुपर्नेमा जोड दिए।
प्राध्यापन क्षेत्रमा लामो समय बिताएकी बद्री लक्ष्मी बैद्यले बाथरोग जागरण अभियानले सबैलाई सहयोग गर्ने विश्वास व्यक्त गरिन्। सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले हरेक वर्ष माघ महिनामा विशेष कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने परम्परा जारी राखिएको जानकारी दिएका छन्।








