बाँके- बाँकेका दुई ठूला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा प्रसूति सेवाको चाप असह्य रूपमा बढेको छ। सुत्केरीको संख्या अत्यधिक बढेपछि उपचार तथा सेवा व्यवस्थापनमा गम्भीर समस्या देखिएको अस्पतालले जनाएको छ।
नेपालगन्जस्थित सञ्जीवनी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम हटाइएपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमै सुरक्षित सुत्केरी सेवाका लागि बिरामीको चाप अत्यधिक बढेको चिकित्सकहरूले बताएका छन्।
भेरी अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उर्मिला पराजुलीका अनुसार बाँके जिल्लाकै बिरामी धेरै हुने अवस्थामै बर्दिया लगायत आसपासका जिल्लामा पर्याप्त चिकित्सक नहुँदा त्यहाँका गर्भवती र सुत्केरी महिलाहरू समेत भेरी अस्पतालमै आउने क्रम बढेको छ।
डा. पराजुलीले निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि प्रसूति सेवा अत्यन्तै महँगो पर्ने भएकाले अधिकांश सेवाग्राहीले भेरी अस्पताललाई नै विकल्पका रूपमा रोज्ने गरेको बताए। यसै कारण प्रसूति सेवामा बिरामीको चाप नियन्त्रण बाहिर गएको उनको भनाइ छ।
भेरी अस्पतालको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब २ हजार महिलाले सुत्केरी सेवा लिएका थिए। तर चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या झन्डै ४ हजार पुगेको छ, जुन दोब्बर वृद्धि हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पहिले मासिक करिब ४ सय जनाले सुत्केरी सेवा लिने गरेकोमा अहिले यो संख्या बढेर ७ सयदेखि ९ सयसम्म पुगेको जानकारी दिनुभयो।
डा. सुवेदीका अनुसार प्रसूति सेवामा पहिलेदेखि नै चाप रहे पनि आमा सुरक्षा कार्यक्रमको सुविधा लिन भेरी अस्पतालमाथि मात्रै निर्भर हुनुपर्ने बाध्यताले अहिले स्थिति झनै जटिल बनेको छ। अत्यधिक भीडका कारण सेवा व्यवस्थापन गर्न कठिन भइरहेको उनले बताए।
अस्पतालले प्रसूति सेवा लिन आएका कसैलाई पनि फिर्ता नपठाउने नीति लिएको हुँदा चाप बढेको बेला भुइँमै राखेर समेत सुत्केरी सेवा दिनुपर्ने अवस्था आएको डा. सुवेदीले जानकारी दिए।
प्रसूति विभागका अनुसार एक सिफ्टमा दुईदेखि तीन जना स्वास्थ्यकर्मीले २० जनासम्म सुत्केरीको सेवा दिनुपर्ने अवस्था छ। प्रसूति सेवातर्फकी नर्सिङ इन्चार्ज शिला शर्माले हाल प्रसूति वार्डमा १८ जना नर्स रहेको र तीन सिफ्टमा बाँड्दा एउटै नर्सले तीनदेखि पाँच जना सुत्केरी हेर्नुपर्ने बाध्यता रहेको बताए।
भेरी अस्पतालको गुरुयोजनामा अलग्गै प्रसूतिगृह निर्माण गर्ने योजना समावेश गरिएको छ र सोको डीपीआरसमेत तयार भइसकेको छ। तर आवश्यक बजेटको व्यवस्था नहुँदा योजना अलपत्र परेको अस्पतालले जनाएको छ।








