स्याङ्जा- पुतलीबजार नगरपालिकाले अब नगरपालिकामा आउने हरेक सेवाग्राहीलाई मधुमेह (सुगर) र रक्तचाप (ब्लड–प्रेसर) परीक्षण सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ। नगरपालिका परिसरमै स्थापित गरिएको यो सेवा नियमित रूपमा संचालन हुने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिएका छन्।
उनका अनुसार अब नगरपालिकाको सेवा लिन आउने सर्वसाधारणसँगै जनप्रतिनिधि तथा कर्मचारीले पनि आफ्नो मधुमेह र रक्तचापको अवस्थाबारे तत्कालै स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएर नगरपालिकाले स्वास्थ्य सचेतना तथा जोखिम पहिचानलाई प्राथमिकतामा राखेको उनले बताए।
सेवा शुभारम्भका दिन स्वास्थ्य शाखाका कर्मचारीले सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिहरूको सुगर तथा रक्तचाप जाँच गरी आवश्यक परामर्श र स्वास्थ्य सुझाव दिएका थिए।
स्वास्थ्य परीक्षण कार्यक्रमलाई स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत ईश्वर थापाले सहजीकरण गर्दै आएका छन्।








