झापा- स्वास्थ्य उपकरण आएर १२ वर्ष बितेपछि प्रादेशिक अस्पताल भद्रपुरले अन्ततः नवजात सघन हेरचाह इकाई (एनआइसीयू) सेवा सञ्चालनमा ल्याएको छ । सेवा सुरू भएपछि प्रसूति गराउन आउने गरिब तथा विपन्न परिवारलाई निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ।
चार बेड क्षमता भएको एनआइसीयू सुरु गर्नुअघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले सोमबार बिहान विशेष पूजापाठ गरेका थिए। त्यसपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले संयुक्त रूपमा सेवा कक्षको उद्घाटन गरे।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमै दुई चरणमा आवश्यक उपकरण उपलब्ध गराए पनि जनशक्ति अभावका कारण एनआइसीयू सञ्चालनमा आउन सकेको थिएन। कोशी प्रदेश सरकारबाट आवश्यक जनशक्ति प्राप्त भएपछि सेवा सुरू गर्न सम्भव भएको डा. गुप्ताले बताए।
एनआइसीयु सञ्चालनका लागि चार बालरोग विशेषज्ञ, नौ नर्सिङ स्टाफ, चार कार्यालय सहयोगी र चार सुरक्षा गार्ड आवश्यक पर्ने अस्पतालले जनाएको छ। जनशक्ति थपिएपछि पुरानो भवनको बच्चा वार्ड नजिकै कक्ष सञ्चालनमा ल्याइएको हो। ‘अब जटिल प्रसूति सेवासमेत यहाँ सम्भव हुनेछ,’ डा. गुप्ताले भने, ‘पहिले एनआइसीयू नहुँदा यस्ता बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता थियो।’
डा. गुप्ताका अनुसार, मेसु बनेदेखि नै नयाँ भवनबाट सेवा सुरू गर्नु पहिलो लक्ष्य थियो, जुन पूरा भइसकेको छ। अब गोदाममा वर्षौँदेखि थन्किएर बसेका एनआइसीयू उपकरण प्रयोगमा ल्याएर सेवा सुरू गर्ने दोस्रो लक्ष्य पनि पूरा भएको बताउँदै उनले थपे, ‘यो सरकारी अस्पताल मुख्यतया गरिब तथा विपन्नका लागि हो। उनीहरूलाई सेवा पाउन अन्यत्र जानु नपरोस् भन्ने उद्देश्यले क्रमशः अन्य सेवा पनि थप्दै छौँ।’
एनआइसीयू सञ्चालनमा मासिक ९ देखि १० लाख खर्च हुने अस्पतालले जनाएको छ। सेवा पहिलो तीन हप्ता परीक्षण समयमा राखिएको छ र सामाजिक सुरक्षा भएकामध्ये पर्ने बिरामीलाई सेवा निःशुल्क हुनेछ। शुल्क तोक्ने विषय व्यवस्थापन समितिको निर्णय अनुसार तय गरिने डा. गुप्ताले जानकारी दिए।








