
काठमाडौं – पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगु संक्रमण देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अनुसार, अघिल्लो साता तुलना गर्दा यस साता संक्रमितको संख्या लगभग दोब्बर वृद्धि भएको छ। यससँगै नेपालमा हालसम्म डेंगु संक्रमितको कुल संख्या ८,२६२ पुगेको छ।
प्रदेश अनुसार विवरण हेर्दा, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। एकै साता ७२ जना नयाँ संक्रमित थपिँदा गण्डकीमा कुल २,१४५ जना संक्रमित पुगेका छन्। त्यसैगरी, बागमतीमा २,१३२, लुम्बिनीमा १,३४६, कोशीमा १,०३६, सुदूरपश्चिममा ८६२, कर्णालीमा ५३०, र मधेशमा २११ जना संक्रमित भएको EDCD ले जनाएको छ।
चिकित्सकहरूका अनुसार, जलवायु परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्रहरू पनि कीटजन्य रोगका लागि अनुकूल बन्दै गएका छन्। लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेका कारण डेंगुको सङ्क्रमण पछिल्ला वर्षहरूमा घटेको छैन।


