
विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रिया गराउँदा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनामा बनेको छानबिन समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएको छ। मन्त्रालयले गठन गरेका विज्ञ चिकित्सकहरूको टोलीले प्रारम्भिक छानबिनमै उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्ष निकालेको हो।
समितिका एक सदस्यका अनुसार शल्यक्रियामा संलग्न टोलीका गतिविधि, प्राविधिक प्रक्रिया र उपलब्ध कागजातको सूक्ष्म परीक्षण गर्दा चिकित्सकीय त्रुटि स्पष्ट भेटिएको छ। नाम गोप्य राख्न चाहने ती सदस्यले भने, “हामीले अनुसन्धान लगभग सकेका छौँ र प्रतिवेदन बुझाएका छौँ। बिरामीको इतिहासदेखि शल्यक्रियाको चरण–दर–चरण अध्ययन गर्दा त्रुटि भएको स्पष्ट देखिन्छ। त्यो कुरा प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख हुनेछ।”
घटना कसरी भयो ?
सुनसरी इटहरी–१ का ७ वर्षीय जेनिस पाठकको नाकमा मासु पलाएपछि अभिभावकले उनलाई ४ मंसिरमा नोबेल अस्पताल भर्ना गरेका थिए। ५ मंसिरमा डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बाँस्तोलाको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो।
तर, शल्यक्रियाको भोलिपल्टै अस्पतालले बालकलाई हतारमा डिस्चार्ज गरे। घर पुगेपछि बालकले आँखा नदेख्ने समस्या बताउन थाले। परिवारले तत्काल विराटनगर आँखा अस्पताल लगेर जाँच गराउँदा नाकको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले भित्री हड्डी काट्दा ‘अप्टिक नर्भ’ नै क्षतिग्रस्त पारेको पुष्टि भयो। आँखा अस्पतालका चिकित्सकले ज्योति फर्कने कुनै सम्भावना नभएको बताएपछि घटना सार्वजनिक भयो।
पीडित पक्षको उजुरी र मोरङ प्रशासनको आग्रहपछि मन्त्रालयले वीर अस्पतालका ईएनटी विभाग प्रमुख डा. अनिता जिसीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा कोशी अस्पतालका विशेषज्ञ डा. वरुण देव र मोरङका अधिकृत रामप्रसाद लुइटेल सदस्य छन्।
टोलिले विराटनगर पुगेर बालकको ‘केस हिस्ट्री’, शल्यक्रिया विवरण, चिकित्सकहरूको बयान र अन्य कागजात संकलन गरी सूक्ष्म अनुसन्धान गरेको थियो। प्रतिवेदन बुझाउन एक साताको समय दिइए पनि समितिले समयमै काम पूरा गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार समितिको प्रतिवेदनका आधारमा दोषी चिकित्सकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ। चिकित्सकको लापरबाही पुष्टि भएमा नेपाल मेडिकल काउन्सिलमार्फत लाइसेन्स खारेजीसम्मको सिफारिस हुन सक्ने बताइएको छ।
सांसद डा. सुनिल शर्माको स्वामित्वमा रहेको नोबेल अस्पतालमा यसअघि पनि उपचार लापरबाहीका गुनासो आउने गरेका थिए। यसपटक पनि चिकित्सकले गल्ती ढाकछोप गर्न खोजेको र पीडित पक्षलाई गुमराहमा राखेको आरोप लागेको छ।


