काठमाडौं- नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ पुगेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रियामा केन्द्रका निर्देशक डा. सर्वेश शर्माले देशव्यापी तथ्यांक सार्वजनिक गर्दै संक्रमितको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरे।
उनका अनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन्। यसमध्ये करिब १४ हजार महिला र १९ हजार २ सय ७९ पुरुष रहेका छन्। देशभर १ हजार ५८ बालबालिका एचआईभी पोजेटिभ रहेको अनुमान छ। गत वर्ष आमाको एचआईभी परीक्षणको क्रममा २ सय २७ बालबालिकामा संक्रमण फेला परेको जानकारी उनले दिए।
डा. शर्माका अनुसार सन् २००० देखि २०२४ बीच नयाँ एचआईभी संक्रमण ७६ प्रतिशतले घटेको छ, तर अझै ९० प्रतिशतसम्म कमी ल्याउनुपर्ने लक्ष्य बाँकी रहेको छ। हाल सरदर दैनिक १.७ जना नयाँ संक्रमित थपिने र दिनमा एक जनाको एचआईभीका कारण मृत्यु हुने तथ्यांक रहेको उनले बताए।
उनले ८८ प्रतिशत संक्रमितले नियमित रूपमा औषधि सेवन गरिरहेको र ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा (भाइरल लोड) परीक्षण गराइरहेको जानकारी दिए। उनले आगामी एक वर्षभित्र एचआईभी नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गर्नु अत्यावश्यक भएको उल्लेख गरे।
डा. शर्माले भने, “नेपालमा एचआईभी संक्रमित अनुमानित संख्या ३४ हजार ३ सय ३७ छ। नयाँ संक्रमण यद्यपि ७६ प्रतिशतले घटेको छ, तर लक्ष्यमा पुग्न अझै प्रयास आवश्यक छ। मृत्यु दर पनि दिनमा एक जनासम्म देखिन्छ, त्यसैले सेवाहरूलाई थप प्रभावकारी बनाउनुपर्नेछ।”









