
काठमाडौँ- औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रा.लिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री-वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो ।
सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात्, म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्बाध बिक्री-वितरण हुँदै आएको थियो ।
विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधिका नमुना संकलन गरी परीक्षण गरिने र मापदण्डविपरीत पाइएमा सम्बन्धित ब्याच रिकल गरिएको जनाएको छ ।
औषधि ऐनको दफा १२ मा हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ । सोही दफाले बजारमा पुगिसकेको कुनै औषधि गुणस्तरहीन ठहरिएमा उत्पादकले आफैँ फिर्ता लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
यद्यपि, परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण गुणस्तरहीन औषधि लामो समयसम्म बजारमा रहने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पुग्न सक्ने प्रश्न स्वास्थ्य क्षेत्रका जानकारहरूले उठाउँदै आएका छन् ।



