काठमाडाैं- आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनलाई लक्षित गर्दै डा. विश्वराज दवाडीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत एक विस्तृत वक्तव्य जारी गर्दै उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्।
डा. दवाडीले चिकित्सकहरूको सुरक्षा, स्वाभिमान र स्वास्थ्य सेवाको गुणस्तरलाई आफ्नो अभियानको मूल नारा बनाउने स्पष्ट संकेत दिएका छन्। पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा चिकित्सकमाथि बढ्दो हिंसा, पेसाप्रतिको अविश्वास, र दक्ष जनशक्तिको निरन्तर विदेश पलायन गम्भीर चुनौती बनेको उल्लेख गर्दै उनले एनएमए अब केवल भेला र दर्ता गर्ने संस्था मात्र नभई स्वास्थ्य प्रणालीको मेरुदण्ड बन्नुपर्ने आवश्यकता औंल्याए।

उनले चिकित्सकहरूको सुरक्षामा शून्य सहनशीलता, मेडिकल क्षतिपूर्ति बीमा, पेशागत जोखिम न्यूनिकरण, तथा सुरक्षित कार्य वातावरणका लागि ठोस पहल गर्ने घोषणा गरेका छन्।
वृत्ति विकास, अनुसन्धान, पारिश्रमिकमा एकरूपता, र विशेषज्ञ उत्पादन तथा वितरणमा नीतिगत सुधार उनका प्रमुख एजेन्डामा रहेका छन्। साथै, सरकारले बनाउने हरेक स्वास्थ्यसम्बन्धी कानुन, नीति र नियममा एनएमएको निर्णायक सहभागिता अनिवार्य गराइने उनले प्रतिवद्धता जनाए।

संस्थाभित्र पारदर्शिता, डिजिटल प्रणाली, सदस्य-मैत्री सेवा, र प्रशासनिक जवाफदेहिता कायम गर्दै एनएमएको आन्तरिक शुद्धीकरण गर्ने उनको योजना वक्तव्यमा उल्लेख छ। रेजिडेन्ट, इन्टर्न तथा नयाँ चिकित्सकका हक–हितमा विशेष ध्यान दिने र विविध पृष्ठभूमिका चिकित्सकलाई एकीकृत मञ्चमा ल्याउने लक्ष्य पनि उनले राखेका छन्।
डा. विश्वराज दवाडी हाल नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य हुन्, जसको पदावधि आगामी पुस १ गते सकिँदैछ।
यसअघि नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।







