अछाम – अछाम जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशमै पहिलो भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा अछाम जिल्ला अस्पतालले सबै जिल्लालाई पछाडि पार्दै प्रथम स्थान हासिल गरेको हो।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशभरका अस्पतालहरूको सेवा सूचकांक, रेकर्डिङ–रिपोर्टिङ, प्रशासनिक तथा आर्थिक प्रगतिसहितका सूचकमाथि गरिएको मूल्यांकनमा अछाम जिल्ला अस्पताल शीर्षस्थानमा रहेको स्वास्थ्य निर्देशनालय, राजपुर डोटीले जानकारी दिएको छ।
एक आर्थिक वर्षभरि गरिएको कामकारबाही, स्वास्थ्य सेवा प्रवाह, विवरण संकलन तथा रिपोर्टिङ, प्रशासनिक क्षमता र आर्थिक व्यवस्थापनमा भएका प्रगतिलाई आधार मानेर मूल्यांकन गरिएको थियो। सोही आधारमा अछाम जिल्ला अस्पताल प्रदेशमै पहिलो भएको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए।

प्रदेशमै पहिलो बनेको अछाम जिल्ला अस्पताललाई स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले सम्मान गरेको छ। कार्यसम्पादन मूल्यांकनमा महाकाली प्रादेशिक अस्पताल दोस्रो र डोटी जिल्ला अस्पताल तेस्रो स्थानमा भएका छन्।
त्यस्तै जनस्वास्थ्य तर्फ स्वास्थ्य कार्यालय डडेल्धुरा प्रथम भएको छ। आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको सूचकाङ्क मूल्यांकनमा उत्कृष्ट प्रगति हासिल गर्दै डडेल्धुराले शीर्षस्थान ओगटेको हो।
स्वास्थ्य कार्यालय डडेल्धुरालाई पनि स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले सम्मान गरेको छ। एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो भएको निर्देशनालयले जनाएको छ।








