डा. शिखर श्रेष्ठ पछिल्लो दशकका उम्दा स्नायु शल्यचिकित्सक हुन् । न्यूरो शल्यक्रिया र उपचारमा क्रान्ति ल्याउने हुटहुटी बोकेर हिडेँका श्रेष्ठ हिजोआज बीएण्ड बी अस्पतालमा विशिष्टिकृति न्यूरो सेन्टरको नेतृत्व गरिरहेका छन् । सपना, जोश र ज्ञानको मिश्रण गरेर डा. शिखरले बनाएको विशिष्ट न्यूरो विभागको संरचना र सेवा थप सशक्त र अत्याधुनिक बन्दैछ । हाडजोर्नी र युरो सर्जरीको अस्पताल भनेर चिनिएको बीएण्डबी(वैद्य एण्ड बास्कोटा) अस्पताल विस्तारै बहुआयामिक विशिष्टिकृत उपचार सेवा एउटै छानामुनी उपलब्ध भएको अस्पताल बनिरहेको छ ।
- बीएण्डबी अस्पतालमा न्युरो सेन्टरको नेतृत्व गर्ने डा. शिखर बीएण्डबीका संस्थापकद्वय डा. वैद्य र वास्कोटाका मात्र नभएर ख्यातिप्राप्त न्यूरोसर्जन स्वर्गीय डा. उपेन्द्र देवकोटाका पनि चेला हुन् । डा. शिखरको जन्मिँदैको एउटा संयोग छ । पाँचजना दिदी आमाको कोखमा आएका शिखर पनि छोरी नै भएको आशंकामा उनकी आमा विजयालक्ष्मीले गर्भ खेर फाल्न खोजेकी थिइन् । त्यसका लागि विभिन्न औषधि पनि खाएकी थिइन् । तर, लेखान्तको कुरा कहाँ मेटिन्थ्यो र ? शिखरको जन्म भयो । घरमा उल्लास भयो । प्रकारान्तरमा देशले एउटा विशिष्ट क्षमता भएको चिकित्सक पायो । लाखौं मानिसको बिरामीमा मल्हम लाग्यो ।

डा. शिखर श्रेष्ठका पिता टेकबहादुर श्रेष्ठ कृषिक्षेत्रका कर्मचारी थिए । टेक बहादुरहरु कै अग्रसरतामा कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको गठन भएको थियो । हुने बिरुवाको चिल्लो पात भनेझैं बृहस्पती विद्यासदनबाट सन् १९९८ मा शिखरले विशिष्ठ श्रेणीमा एसएलसी पास गरे । त्यो समयमा विशिष्ट श्रेणीमा उतीर्ण भएपछि उनले सेन्ट जेभियर्स कलेजमा आइएस्सी पढे । राम्रो विद्यार्थीले साइन्स पढ्ने भन्ने त झन् सामान्य भइहाल्यो । उनको रुचीपनि त्यतै थियो । त्यसपछि शिखरले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस गर्ने अवसर पाए । त्यो पनि पहिलो ब्याचमै । सन् २००७ मा एमबीबीएस सकेपछि उनी मेडिकल अफिसरका रुपमा बीएण्डबीमा जोडिए । त्यहि संयोग थियो । उनी बीएण्डबी अस्पतालका संस्थापक एवं वरिष्ठ यूरोसर्जन डा. जगदिशलाल वैद्यको आँखामा परे । डा. वैद्यको राम्रो विद्यार्थी भएका श्रेष्ठले एफसिपीसी नामक सर्जनहरुको फेलोसिप लिने अवसर पनि पाए ।
अब बेला भयो विशेषज्ञता हासिल गर्ने । शिखरले न्यूरो सर्जरी रोजे । सन् २०१२ मा उनी डा. देवकोटाको समूहमा पुगे । त्यसैले होला डा. शिखरले डा. जगदिशलाल वैद्य, डा. अशोक बास्कोटा र डा. उपेन्द्र देवकोटालाई आफ्नो ब्रम्हा विष्णु र महेश्वर मान्ने गरेका छन् । डा. देवकोटासँगको सहकार्यले शिखरलाई एउटा उत्कृष्ट ज्ञानको हस्तान्तरण भएको छ । पुस्तान्तरण भएको छ । डा. देवकोटा यस धर्तीमा नरहेपनि उनले उत्पादन गरेका उनका एक उत्तराधिकारी हुन् शिखर । जसले उनलाई श्रद्धा गर्छ र उसैको पदचाप पछ्याउँछ । सायद त्यसैले होला डा. शिखरलाई बीएण्डबी न्यूरो सेन्टरलाई उत्कृष्ट र अत्याधुनिक न्यूरो उपचार केन्द्रका रुपमा विकास गर्ने जोश चलेको छ ।
उनले नेपाली न्यूरोसर्जरीका पिताका रुपमा रहेका डा. दिनेशनाथ गंगोललाई सम्झिए । डा. उपेन्द्र देवकोटा गंगोलका चेला थिए । उनले देवकोटालाई बेलायतका सेन्ट जर्जेज हस्पिटल लण्डनमा डा. हेनरी मार्ससँग तालिम लिन पठाएका थिए । सोही क्रमको अर्को लाभग्राही हुने अवसर डा. शिखरले पाए । उनले पनि डा. हेनरी मार्ससँग तालिम लिन पाए । डा. हेनरी नेपाल पनि आए । कठिन शल्यक्रियाका बारेमा छलफल गर्ने बाटो खुल्यो । डा. वैद्य, वास्कोटा र देवकोटाको सानिन्ध्यबाट आफुले उहाँहरु कसरी त्यति विशिष्ट व्यक्तित्व बन्नुभयो भन्ने जान्न पाएको शिखरले सम्झिए ।
डा. देवकोटाको देहावसान पछि पनि शिखरले तीनवर्ष न्यूरो अस्पताल बाँसबारीमा सेवा गरे । आफुले सिकेको सिद्धान्त, मापदण्ड र अनुशासनलाई निरन्तरता दिए । तर, समयक्रममा आफुले प्राप्त गरेको ज्ञानको ज्योती अझै बृहत्तर रुपमा छर्ने योजना डा. शिखरले बनाए । उनले बाँसबारी छाडेर बीएण्डबी अस्पतालमा न्यूरोसर्जरीलाई विस्तार गर्ने र अत्याधुनिक न्यूरो सेन्टर निर्माण गर्ने अभियानमा सहभागी भए ।

डा. शिखरको नेतृत्वमा सञ्चालन र सेवा विस्तार गरिरहेको बीएण्डबी न्यूरो सेन्टरमा हाल ५ जना न्यूरोसर्जन कार्यरत छन् । न्यूरोलोजिस्ट २ जना, न्यूरो साइक्याट्रिस्ट २ जना, न्यूरो इन्टरभेन्सनलिस्ट १ जना र क्लिनिकल साइकोलोजिस्ट एकजना सहित दर्जनौं नर्सिंग र पारामेडिक्सलाई साथमा लिएर न्यूरो सेन्टरले प्रगतिको उडान भरेको छ । यसबाहेकका सहायक उपचारका लागि सबै विशेषज्ञता बीएण्डबीमा उपलब्ध छ । अस्पतालमा उपचार सेवा बाहेक विभिन्न शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन हुन्छ । नयाँ चिकित्सकलाई तालिम दिएर अरु शिखरहरु बनाउने कार्यमा पनि डा. शिखर श्रेष्ठ लागेका छन् ।
डा. श्रेष्ठको प्रस्तुतिकला राम्रो छ । विषयहरुलाई राम्रोसँग अभिव्यक्त गर्नसक्ने क्षमता छ । शब्द बुनेजस्तै वा स्नायुका मसिना धागाहरु मिलाएर शल्यक्रिया गरेजस्तै उनलाई बगैंचाका फूलहरु गोड्न मन पर्छ । कृषि विज्ञका छोरा भएर पनि हो कि बगैँचामा काम गर्ने उनको अतिरिक्त र मूख्य रुची हो । बगैँचाका रुख र फुलहरुसँग खेल्न पाउँदा उनलाई बिरामीको नशा चिरेको थकान कम हुन्छ । जीवनसाथीको लगनगाँठो प्रोथोडोन्टिस्ट डा. अनुषा श्रेष्ठसँग बाँधेका शिखरका दुई छोराहरु छन् । के थाहा शिखरले चालेका पाइला नै पो उनका छोराहरुले पछ्याँछन् कि ? यो भविष्यकै कोखमा छाडौं । जे होस् परिवार, पेशा र समाजको सेवामा तल्लीन शिखर आफ्नो विधामा शिखर चुम्ने खुड्किलाहरु चढिरहेका छन् । अनवरत लक्ष्यको दिशामा लम्किरहेका छन् ।

डा. श्रेष्ठ जीवनलाई भौतिक रुपमा मात्र हेर्दैनन् । अध्यात्म पनि एउटा विज्ञान हो भन्ने उनको बुझाई छ । सकरात्मक र नकरात्मक उर्जाले धेरे अर्थ राख्छ । शुद्ध चित्त राखेर गर्ने उपचार र तनावका बीचमा गरिने उपचारमा धेरै फरक हुने उनले बताए । चिकित्सक भावनाविहीन हुनुहुँदैन तर, हातै काँप्ने गरि पनि समवेदना पनि राख्नुहुँदैन भन्ने उनको सोच रहेछ । मन्दिर जाने अध्यात्म होइन सकरात्मक सोच बोकेर गरिने मानवसेवा धर्म हो । अध्यात्मको अभिव्यक्ति मानवसेवा भएको शिखरको बुझाइ छ । अदृश्य भगवत शक्तिप्रति नतमस्तक हुने र सत्कर्म गर्ने अध्यात्मको पक्षमा आफु रहेको निचोड डा. श्रेष्ठले सुनाए ।