

काठमाडौँ- नेपाल चिकित्सक सङ्घले देशका विभिन्न मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूले उठाएका मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूले सञ्चालन गरिरहेका विरोध तथा आन्दोलनका कार्यक्रमप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
माग समाधानका लागि सरकार, मेडिकल कलेज तथा आन्दोलनरत चिकित्सकहरूसँग निरन्तर छलफल र संवाद भइरहेको सङ्घले जनाएको छ। आन्दोलन रहरले नभई बाध्यताबाट सिर्जना हुने भएकाले चिकित्सकका जायज मागहरूको उचित सुनुवाइ हुनु लोकतान्त्रिक समाजको आवश्यकता रहेको सङ्घको भनाइ छ।
साथै, विगतका विभिन्न घटनाक्रममा भएका सम्पूर्ण सहमतिलाई एकै ठाउँमा समेटेर कानुनी हैसियतसहितको एकीकृत सहमति तयार गरी कार्यान्वयन गर्नुपर्नेमा सङ्घले जोड दिएको छ।
समस्याको समाधानका लागि सहज वातावरण निर्माण गर्दै सहमतिको अवस्था सिर्जना गर्न आफू प्रतिबद्ध रहेको पनि सङ्घले स्पष्ट पारेको छ।




