

काठमाडौँ- स्वास्थ्य सेवा विभागले सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन केन्द्रीय भ्याक्सिन स्टोरमा ल्याएको छ।
नियमित खरिद प्रक्रियाअन्तर्गत खरिद गरिएको उक्त भ्याक्सिन बिहीबार साँझ ५ बजे टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको विभागले जनाएको छ।
यसैगरी रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन (eRIG) समेत स्टोरमा आइपुगेको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी भ्याक्सिन तथा इम्युनोग्लोबुलिन सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा प्राप्त भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको विभागले जनाएको छ।



