

काठमाडौँ – पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन्।
यसका लागि पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबिच शुक्रबार सम्झौता भएको छ।
सम्झौता अनुसार परिषद्मा आबद्ध पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्य बिरामी भई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल तथा काठमाडौं मेडिकल कलेजअन्तर्गतको अस्पतालमा जाँदा विभिन्न उपचार सेवामा छुट पाउनेछन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा पनि सम्झौता अनुसार उपचारमा छुटको व्यवस्था गरिएको छ।
दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने अन्तरङ्ग विभागका सबै सेवाको शुल्कमा शतप्रतिशत छुट दिइनेछ। द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका वा मृत्यु भएका सदस्यका आमा, बुवा, श्रीमान् वा श्रीमती तथा नाबालक दुई जना छोराछोरीले यो सुविधा पाउनेछन्।
यसैगरी परिषद्मा आबद्ध अन्य पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अन्तरङ्ग विभागका सेवामा ५० प्रतिशत छुट पाउनेछन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा २५ प्रतिशत तथा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख छ।
सम्झौता अनुसार द्वन्द्वपीडितमध्ये पाँच जनासम्मलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ। अस्पताल पुगेको २४ घण्टाभित्र सम्बन्धित बिरामीको नाम उल्लेख भएको परिषद्को सिफारिसपत्र अस्पताललाई उपलब्ध गराउनुपर्नेछ। आकस्मिक उपचारका लागि आउने परिषद्मा आबद्ध बिरामीलाई २४ घण्टासम्म क्रेडिटमा उपचार सेवा उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ। सम्झौता अनुसारको सुविधा प्राप्त गर्न २४ घण्टाभित्र परिचय खुल्ने सिफारिसपत्र अस्पतालमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।



