काठमाडौं- थप एक नेपालीमा मंकीपक्स पुष्टि भइसकेको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सिन्धुलीका ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आइरहेका हुन् । मकींपक्स रोग लागेपछि साउदी अरबको अस्पतालमा विगत १७ दिनदेखि उपचारार्थ थिए । त्यहाँ राम्रो उपचार नपाएपछि उनी उपचारकै लागि नेपाल फर्केको थिए ।
शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी साउदी अरबस्थित काम गर्ने कम्पनीबाटै टिकट बुकिङ गरेर दोहा हुँदै नेपाल आएका थिए । हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका उनको शरीरभरी ५० भन्दा बढी फोका उठेर प्रापा बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार ती पुरुषको शरीरको भित्री अंगमा भने असर गरेको देखिएको छैन । र मकींपक्स पुष्टि भएका ती पुरुषको मृर्गौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगमा भने असर नगरेको छाला रोग विशेषज्ञ डा सिवेन्द्रकुमार झाले बताए ।
यसअघि गत पुस ५ गते साउदीबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा पनि मंकीपक्स पुष्टि भएको थियो । तनहुँका ३६ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।