काठमाडौं- काठमाडौंमा जन्मिएका डा. तेजसु सिंह मल्ल चिकित्सकको पारिवारिक पृष्ठभूमीबाट आएका हुन् । हजुरबुवा डा. जीत सिंह मल्ल र बुबा प्रोफसर डा. तेज सिंह मल्ल चिकित्सक भएकाले तथा आमा प्रोफेसर डा. सुशीला मल्लको प्रेरणाबाट उनी यस क्षेत्रमा प्रवेश गरेका थिए ।
सन् २००९ मा बङ्गलादेशबाट एमबीबीएस गरेका उनले केही वर्ष बीएण्डबी अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरेका थिए । त्यसपछि चिन सरकारको छात्रवृतिमा २०१७ मा साउथ इस्ट विश्वविद्यालयबाट आँखा (आप्थेल्मोलाजी) मा मास्टर डिग्री गरे ।
२०१७ मा नेपाल फर्किएका उनी हाल विभिन्न अस्पतालमा कार्यरत छन् । एक कुशल परामर्शदाता तथा नेत्र रोग विशेषज्ञको रुपमा उनी छत्रपति निःशुल्क अस्पताल, दृष्टि आँखा अस्पताल र बीएण्डबी अस्पतालमा कन्सल्टेन्ट ओफथाल्मोलोजिस्टको रुपमा कार्यरत छन् । यस्तै उनको आफ्नै तेज आँखा केयर सेन्टर नामक निजी क्लिनीक पनि रहेको छ ।
उमेरले ४१ वर्ष कटेका उनी हाल चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको केन्द्रीय सदस्य छन् । भने, हालै सम्पन्न भएको नेपाल अप्थाल्मिक सोसाइटीको निर्वाचनमा मल्ल महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।

२०१७ देखि २० भन्दा बढी नेत्र विज्ञान सम्मेलनहरूमा सक्रिय रुपमा सहभागी भएका उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रकाशनहरूमा योगदान गरेका छन् । साउथइस्ट युनिभर्सिटीबाट उत्कृष्ट विद्यार्थी पुरस्कार पाएका उनले हालपनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु पाइसकेका छन् । उनै डा. तेजसु सिंह मल्लसँग स्वास्थ्य डायरीले विभिन्न विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :
तपाईं चिकित्सक संघमा दुई वर्षदेखि हुनुहुन्छ । हालै नेपाल अप्थाल्मिक सोसाइटीमा पनि महासचिव बन्नु भएको छ । तपार्ईंले यी संस्थामा निभाएका भूमिका कस्ता छन् ?
चिकित्सक संघ मेरै हजुरबुवा डा. जीतसिंह मल्ल लगायतले स्थापना गरेको संस्था हो । बुवा तेज सिंह पनि संघका विभिन्न पदमा बसेर जर्नलको एडिटर इन चीफ पनि बन्नुभयो । त्यसरी मेरो पारिवारिक पृष्ठभूमि नै चिकित्सक संघमा भएकाले मलाई पनि त्यसमा रहने इच्छा लागेको हो ।
देशको परिस्थीति तथा चिकित्सकको हकहितका लागि केही गर्न सक्छु कि भनेर संघमा आवद्ध भएको हुँ । समस्याहरु परेका बेला विभिन्न मेडिकल कलेजहरुमा गएर समाधान गर्ने प्रयास गरिरहेको छु । म नयाँ पुस्ताको भएकाले सबैले मबाट धेरै आशा राखेका हुन्छन्, म सक्दो उहाँहरुलाई सहयोग गर्ने प्रयास गरिरहेको हुन्छु ।
यस्तै आँखा विशेषज्ञको रुपमा रहेर अप्थाल्मिक सोसाइटीमा सन् २०२० देखि नै आवद्ध छु । देशका विभिन्न स्थानमा आँखा चिकित्सकको नाममा भ्रम छर्ने काम भइरहेको छ । आँखा चिकित्सक भनेर अन्य व्यक्तिले नै आँखा चेकजाँच गर्ने काम भइरहेको छ । त्यही क्षेत्रको अन्य विधामा काम गर्नेले त्यसरी आफूलाई आँखा चिकित्सक हुँ भनेर भन्न पाइँदैन । यो कुरा मैले विगतदेखि नै उठाउँदै आइरहेको छु ।
नेपाल अप्थाल्मिक सोसाइटीको महासचिव भइसकेपछि आँखा विशेषज्ञहरुको हकहितमा के गर्नुहुन्छ ?
सर्वप्रथम त आँखा चिकित्सक भनेर टाइटलको दुरुपयोग भइरहेको कुरामा काम गर्छौ । आँखा जाँच गर्ने सबै नेत्र चिकित्सक हुँदैनन् । मन्त्रालय र मेडिकल काउन्सिलमा गएर पनि यो विषयमा आवाज उठाइरहेका छौं । यस्तै जनतामाँझ यो समस्याका बारेमा सचेतना पनि जगाउने योजना छ ।
यस्तै सरकारी अस्पतालमा विभिन्न उपकरणको कमी छ । सामान्य आँखा हेर्न प्रयोग हुने ‘स्लिट ल्याम्प’ पनि नभएको अवस्था छ । केही अस्पतालमा अझै पनि टर्च लाइटको मद्दतले आँखा जाँच्नुपर्ने अवस्था दुःखलग्दो छ ।
भएका ठाउँमा पनि अत्याधुनिक प्रविधिका ‘स्लिट ल्याम्प’ छैनन् । यो लगायत अन्य उपकरण उपलब्ध गराउन लबिङ गर्ने काम हामीहरु गर्छौं ।
यस्तै चिकित्सकहरुको सेवासुविधा पनि कम छ जस्तो लाग्छ । त्यसमा पनि बढोतरी गर्नेमा हाम्रो लबिङ हुन्छ ।
चिकित्सक र आँखा चिकित्सकले के–के समस्या भोगिरहेका छन् ? राज्यले के गर्नुपर्ला ?
सरकारले चिकित्कसलाई २ वर्ष बाउन्डिङको ध्येय राखेको छ । त्यो राम्रो हो तर विभिन्न समयमा शल्यक्रिया लगायतका तालिमको उपलब्धता गराउनुपर्छ । ती आँखा चिकित्सक कार्यरत स्थानमा शल्यक्रियाको सुविधा नहुनसक्छ । उनीहरुलाई पनि शल्यक्रियाको अभ्यास गर्ने वातावरण बनाउनुपर्छ ।
यस्तै नेपाल सरकारले आँखा चिकित्सकको दरबन्दी पनि बढाउनुपर्छ । दरबन्दी भएका स्थानमा पनि चिकित्सकले पाउने सेवा सुविधा प्रर्याप्त छैन । सरकारले त्यसमा सोच्नुपर्छ ।
राज्यले चिकित्सकहरुका लागि उपकरणकोे पनि सही व्यवस्थापन गर्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण रहेको ‘स्लिट ल्याम्प’का साथै मोतिबिन्दुको शल्यक्रियामा प्रयोग हुने माइक्रोस्कोप, प्रयाप्त मात्रमा आवश्यक जनशक्ति र काम गर्ने वातावरण भएमा नेत्र चिकित्सकहरु अझै हौसलाका साथ सेवा दिन नेपालको जुनसुकै ठाउँमा जान तयार हुने थिए ।
थप केही भन्न चाहानुहुन्छ ?
सरकारले नेत्र चिकित्सक उपाधीको नाममा दुरुपयोगमा ध्यान दिन आवश्यक छ र जनचेतना पनि जगाउनुपर्छ । सरकारले अहिले नीति निर्माणका लागि अप्थाल्मिक सोसाइटीलाई बोलाइरहेको हुन्छ ।
सरकारले हामीलाई विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गर्न आग्रह गरिरहेको हुन्छ । त्यसै अनुसार हामी विभिन्नका काम गरिरहेका छौं ।