

काठमाडौं – ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको औपचारिक घोषणा गरेको छ। सहकार्यको घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित “कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू” विषयक निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा गरिएको हो।
अस्पतालका अनुसार यस सहकार्यको मुख्य उद्देश्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्नु तथा उपचारअघि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो।
कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीनतम अभ्यासबारे अनुभव र अनुसन्धान आदानप्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष डा. रजनीश मल्होत्रा, थोरेसिक सर्जरी विभागका निर्देशक डा. शैवाल खण्डेलवाललगायत विशेषज्ञ चिकित्सकहरूको स्वागत गरे।
उनले नेपालमा मुटुरोग तथा कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा योगदान पुर्याएका डा. भगवान कोइराला, डा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा, डा. ज्योतिन्द्र शर्मालगायत वरिष्ठ चिकित्सकहरूको योगदानको प्रशंसा गरे।
अध्यक्ष भण्डारीले म्याक्स हेल्थकेयरसँगको रणनीतिक सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार उपचारपूर्व विशेषज्ञ परामर्श, उपचार समन्वयदेखि उपचारपछिको निरन्तर फलो-अप सेवासम्मको संरचित स्वास्थ्य सेवा प्रणाली विकास गरिनेछ।
यस सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीहरूले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपश्चात नेपालमै निरन्तर फलो-अप सेवासहित एकीकृत स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।
ह्याम्स अस्पतालले यस सहकार्यलाई अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय, सुरक्षित र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।



