

धनगढी – २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पताल लगिएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको स्वास्थ्य परीक्षण शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले गरेका थिए। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो। चिकित्सकका अनुसार सुगरको मात्रा अत्यन्त न्यून भएकाले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था देखिएपछि उनलाई अस्पताल सारिएको हो।
डा. केसीका सहयोगी अमृत जैशीका अनुसार लगातारको अनशनका कारण उनको स्वास्थ्य झन् कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, बोल्न असहज हुने तथा खुट्टाको शल्यक्रिया गरेका कारण हिँडडुल गर्न समेत कठिनाइ भएपछि बाथरुम जानसमेत समस्या भइरहेको उनले बताए।
डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रहमा बसेका छन्। उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन गर्न, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्न तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
यता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ डा. केसीका सहयोगी अमृत जैशीसँग र त्यसपछि राति स्वयं डा. केसीसँग भएको टेलिफोन संवादमा मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने तथा आवश्यक परे आफू धनगढी आउने प्रतिबद्धता व्यक्त गरेको जैशीले जानकारी दिए।



