

धनगढी- आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका उच्च अधिकारीहरू धनगढी पुगेका छन्। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरमार्फत धनगढी पुगेका हुन्। सरकारको तयारीअनुसार उनीहरूले आजै डा. केसीसँग वार्ता गर्नेछन्।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगेर सेती प्रादेशिक अस्पतालमा उपचाररत डा. केसीसँग भेटवार्ता गरिसकेका छन्। वार्ता समितिका अन्य सदस्य पनि धनगढी आउने तयारीमा रहेको जनाइएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीलाई आइतबार दिउँसो सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ भने बोल्न र हिँडडुल गर्नसमेत कठिनाइ हुन थालेको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार डा. केसीले आमरण अनसनलाई निरन्तरता दिँदै स्लाइनसहित उपचारका अन्य प्रक्रिया पनि अस्वीकार गरिरहेका छन्। उनको स्वास्थ्य निगरानीका लागि चार सदस्यीय चिकित्सक टोली २४सै घण्टा खटिएको अस्पतालले जनाएको छ।
डा. केसीले विभिन्न स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका माग राख्दै गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट आमरण अनसन सुरु गरेका हुन्।



