काठमाडौं, १५ मंसिर । नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा डा. पुरुषोत्तम जोशी निर्वाचित भएका छन् ।
राजधानीमा शनिवार सम्पन्न सोसाइटीको अधिवेशनबाट जोशी निर्वाचित भएका हुन् । अघिल्लो कार्यकालमा महासचिव रहेका डा. जोशी २ सय ५२ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. रवा थापाले १ सय २१ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै सोसाइटीको उपाध्यक्षमा डा. रञ्जना शर्मा निर्वाचित भएकी छिन् । उनले १ सय ८९ मत ल्याउँदा अर्को प्रत्यासी डा. रक्षा पन्त (सिटौला)ले १ सय ७० मतमात्र ल्याइन् । त्यस्तै, महासचिवमा डा. तेजसु सिंह मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यषमा डा. कौशल पोखरेल र सहसचिवमा डा. रवीन्द्र सिंह ठकुरी पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सह कोषाध्यक्षमा भएका निर्वाचनमा डा. लिली राजवंशी निर्वाचित भएकी छिन् । उनले २ सय १० मत ल्याउँदा अर्का प्रत्यासी डा. सुरेश बिके रसाइलीले १ सय ५३ मत ल्याए ।
सदस्यहरुमा डा. दिक्षा विष्ट, डा. पवन महत, डा. रचना सिंह राना, डा. लिजा श्रेष्ठ जोशी, डा. सविन साहु, डा. मनिषा श्रेष्ठ, डा. कुमुदिनी सुवेदी र डा. आरती काराखेती निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आजै सपथ ग्रहण गराइएको छ । सोसाइटीका नवनिर्वाचित अध्यक्ष डा. जोशीलाई निवर्तमान अध्यक्ष प्रा.डा मिनु चौधरीले अध्यक्षको मेडल लगाएर स्वागत गरेकी छिन् ।

सोसाइटीको शुक्रवार र शनिवार सम्पन्न सम्मेलनको दोश्रो दिन शनिवार अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । कार्यसमितिको पदावधि २ वर्षको रहने सोसाइटीको विधानमा व्यवस्था छ ।