
काठमाडौं, ८ मंसिर । चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज सञ्चालकहरुबीच रहेको मतभेद कायमै रहेका बेला चिकित्सा शिक्षा आयोगको १५ औं बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को कार्यप्रगति समीक्षा लगायत शिक्षण संस्था गाभ्ने सम्बन्धी कार्यविधिमा छलफल हुने आयोगको सूचनामा उल्लेख छ । बैठकमा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुनेछ ।
आयोगले छलफलका अन्य विषयलाई प्राथमिकतामा राखेको जस्तो गरेपनि सरोकारवालाको हालको चासो भने आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी विषय रहेको छ ।
चिकित्सा शिक्षा आयोगले यसअघि पिजी अध्ययनरत चिकित्सकलाई आठौं तहको तलब बराबर निर्वाह भत्ता दिने निर्णय गरेपछि कलेज सञ्चालकले त्यसलाई अस्वीकार गरेका छन् । उनीहरूले आयोगमा सेल्फ अप्रेजल (आफ्नो क्षमता अनुसारको सिट संख्या माग्ने) फर्मसमेत भरेका छैनन् । जसले गर्दा यो वर्ष पोष्ट ग्रयाजुएट गर्ने ७ सय २६ जना चिकित्सकको भविश्य अन्योलमा परेको छ । निजी मेडिकल कलेज एशोसियसनका प्रतिनिधिले यस विषयमा आयोगको बैठकमा छलफल चलाउने तयारी गरेका छन् ।
निजी मेडिकल तथा डेन्टल कलेज एशोशियसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विद्यार्थीलाई कर्मचारीसरहको तलबभत्ता दिनुपर्छ भन्नु सरासर गलत भएको बताउँछन् । विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले ताकेकै दरमा अध्यापन गराएर निर्वाहभत्ता समेत दिइरहेका सन्दर्भमा विद्यार्थीलाई कर्मचारीसरह तलब र भत्तासमेत दिन लगाउनु अन्यापूर्ण भएको उनको भनाइ छ ।
‘अहिलेसम्म कुनै विद्यार्थीले आएर मेरो शोषण भयो भनेको छैन । यो उनीहरुको माग नै होइन यो डाक्टरका नाममा राजनीति गर्नेहरुको होकी कसको माग हो मैले बुझेको छैन ।’ डा. कार्कीले भने ।
चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्रीलाई समेत आफुहरुले स्पष्ट रुपमा उक्त निर्णय मान्न नसकिने भनेर आग्रह गरेको निजी मेडिकल तथा डेन्टल कलेज एशोसियसनका महासचिव भीमबहादुर चन्दले जानकारी दिए ।
पीजी भर्नाको विषयलाई पछिल्लो समय चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज सञ्चालकहरुले प्रतिष्ठाको विषय बनाइरहेका छन् । यस विषयमा दुवै पक्षले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिंग गरेका छन् । आजको बैठकमा यस विषयलाई शीर्षकमा नराखिएपनि विविध तर्फ छलफल हुने जनाइएको छ ।
चिकिस्ता शिक्षा आयोग र मेडिकल कलेजबीचको विवादले शैक्षिक कार्यक्रम नै रोकिने देखिएपछि प्रधानमन्त्री ओलीले यस विषयमा चासो दिएका छन् ।


