काठमाडौं । अफ्रिकी मुलुकहरूमा इबोला भाइरसको संक्रमण फैलिँदै गएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा सुरु भएको संक्रमण अन्य देशमा समेत देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निगरानी र संक्रमण नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
डब्लुएचओले सार्वजनिक गरेको विवरणअनुसार २० अक्टोबरसम्म कंगोमा ९ हजार ७ सय ४ जनामा इबोला संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये मृत्यु हुने अनुपात करिब ४८ दशमलव ३ प्रतिशत रहेको छ।
कंगोका आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा संक्रमण पुष्टि भएको विवरणहरुमा उल्लेख छ। विशेषगरी इटुरी र नर्थ किभु प्रान्त बढी प्रभावित छन्। संक्रमितको समयमै पहिचान र उपचारमा पहुँच नहुँदा मृत्युदर उच्च रहेको डब्लुएचओले जनाएको छ।
केन्या र नाइजेरियामा पनि संक्रमण
कंगोबाट फैलिएको संक्रमण केन्या र नाइजेरियामा समेत पुष्टि भएको छ।
हालसम्म प्राप्त जानकारी अनुसार केन्यामा नौ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। थप आठ संक्रमित पहिलो बिरामीको सम्पर्कमा आएका व्यक्ति हुन्। उनीहरूमध्ये चार जना परिवारका सदस्य र चार जना स्वास्थ्यकर्मी रहेका छन्। हालसम्म उक्त समूहबाहिर समुदायस्तरमा संक्रमण फैलिएको प्रमाण भेटिएको छैन।
त्यस्तै, नाइजेरियामा २० अक्टोबरमा एक महिलामा संक्रमण पुष्टि भएको छ। उनी यसअघि युगान्डाबाट नाइजेरिया पुगेकी थिइन्। संक्रमित महिलालाई आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ। उनको सम्पर्कमा आएका ४४ जनाको निगरानी भइरहेको छ।
कसरी सर्छ इबोला ?
यसपटकको संक्रमण बुण्डिबुग्यो नामक भाइरसका कारण भएको हो। यो इबोला रोग गराउने भाइरसहरूमध्ये एक हो।
संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थ वा ती पदार्थबाट दूषित सामग्रीसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्न सक्छ। संक्रमित व्यक्तिमा लक्षण देखिनुअघि सामान्यतया अरूलाई संक्रमण सर्दैन।
सुरुमा ज्वरो आउने, थकान हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने र घाँटी दुख्ने लक्षण देखिन सक्छन्। पछि बान्ता, पखाला तथा शरीरका अंगहरूको कार्यमा समस्या आउन सक्छ।
डब्लुएचओको सतर्कता आग्रह
विश्व स्वास्थ्य संगठनले प्रभावित देशहरूमा बिरामीको शीघ्र पहिचान, प्रयोगशाला परीक्षण, संक्रमितको सुरक्षित उपचार, सम्पर्कमा आएका व्यक्तिको निगरानी र स्वास्थ्यकर्मीको सुरक्षामा जोड दिएको छ।
यस प्रजातिको इबोला संक्रमणविरुद्ध हालसम्म स्वीकृत विशेष खोप वा औषधि उपलब्ध छैन। तर समयमै पहिचान र उपयुक्त सहायक उपचारले बिरामीको ज्यान जोगाउने सम्भावना बढाउन सक्छ।
डब्लुएचओले हाल उपलब्ध प्रमाणका आधारमा प्रभावित देशहरूसँगको यात्रा वा व्यापारमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छैन।









