

काठमाडौं- नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस २०२४ मनाइरहेकाे छ । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ प्रतिष्ठानले कार्तिक २३ गतेदेखि २९ गतेसम्म मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी)को सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरेको हाे ।
मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउँनका लागि तथा आँखा स्वास्थ्य सचेतनाका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ ।
अस्पतालले कार्तिक २३ गतेदेखि २९ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ । साथै, विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ । त्यस्तै, बिरामी सचेतनाका लागि अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरु प्रेसित गरिएको छ । त्यस्तै, देशैभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको छ भने मंसिर १ गते डायबेटिक सोसाइटि नेपालसँगको सहकार्यमा ओमबाहलबाट वल्काथनको आयोजना गरिँदैछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सुर्तीजन्य पदार्थको सेवन नगरे टाइप टु मधुमेहबाट बच्न सकिन्छ भने पूर्व रोकथाम समेत गर्न सकिन्छ। मधुमेहको उपचार पनि गर्न सकिन्छ जसका लागि आहार, शारीरिक गतिविधि, औषधि सेवन, नियमित जाँच र जटिलताहरूको उपचार जस्ता विषयमा ध्यान दिन जरुरी छ।



