काठमाडौं- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गतका अस्पतालहरुमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गरेर मात्रै बिरामीमा एन्टिबायोटिक प्रयोग गर्न पत्राचार गरेको छ ।
स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन समितिको निर्णयपछि कात्तिक १४ गते नै सबै अस्पतालमा पत्र पठाइसकिएको प्रदेश स्वास्थ्य प्रशासक डा रमेश कुमार केसीले बताए । उनका अनुसार प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशद्वारा गत वर्ष गरेको अनुसन्धानले पनि गण्डकी प्रदेशमा एएमआरको समस्या बढिरहेको देखाएको छ ।
त्यसैका आधारमा २०८१/ असोज १३ गते बसेको स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन समितिको बैठकले अस्पतालहरुमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गरेर प्रेस्क्राइब गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।