

कैलाली- कैलालीको धनगढीमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता भएको छ । धनगढी उपमहानगरपालिका र अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकबिच बुधवार सम्झौता भएको हो ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाको शिव माध्यामिक विद्यालयको परिसरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र र वर्थिङ सेन्टरको भवनहरुमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता गरिएको छ । अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकले धनगढीमा शाखाका रुपमा अस्पतालसहितको पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सम्झौता गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार एक सय शय्या क्षमताको अस्पताल केन्द्रको छ । १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया लगायतका सेवा केन्द्रले दिने भएको हो ।
धनगढीमा फिजियोथेरापीसहितका सामान्य उपचार सेवा दिने र शल्यक्रिया वा जटिल प्रकृतिका बिरामीहरूलाई उपचारका लागि काभ्रेपलान्चोक लैजाने तयारी गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थले बताए । उनीहरुलाई अर्थोपेडिक सहायता सामाग्री, अपाङ्गता सहायता सामाग्रीसँगैऔषधीको व्यवस्थापनसमेत गरिने भएको छ ।
धनगढी उपमहानगरपालिकाले भवन दुई वर्षका लागि केन्द्रलाई दिएको छ । उक्त केन्द्रमा आवश्यक पर्ने पानी, बिजुली, टेलिफोन तथा नेटको शुल्क भने केन्द्रले तिर्नुपर्ने छ ।



