

काठमाडौं- सुनसरी जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
डा. राईमाथि कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज भएको भन्दै नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । “अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ । साथै, उक्त घटनामा संलग्न दोषीलाई समयमै नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दछौँ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य संस्थामा हुने गरेका यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आएर स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने संघको भनाइ छ ।
संघले घटनामा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन), २०७९’ बमोजिम कानूनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।



