
काठमाडाैं- आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् । मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा छन् ।
विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउने गरेको विश्व मुटु महासंघको तथ्याङ्क छ । सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशतभन्दा धरै पुग्ने अनुमान गरिएको छ । आफ्नो स्वास्थ्यमा ख्याल राखेर धुमपान नगर्न, जाँडरक्सी नखान, धेरै गुलियो, चिल्लो र बोसोयुक्त खाना नखान तथा व्यायाम गर्न डाक्टरको सुझाव छ ।
मुटु रोग लाग्ने कारण ?
मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूमपान वा सूर्तिजन्य पदार्थ सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम, ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने बजारको पोके खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् ।
यी कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्व। यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छौं ।
के गर्ने ?
कमसेकम वर्षको एक पटक डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौं ।
चुरोट रक्सीको सेवन नगरौं, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौं, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौं, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौं, फलफूल खाने बानी बसालौं । आफ्नो मुटु स्वस्थ राखौं ।


