–डाक्टर सुनिता भण्डारी
सुरक्षित गर्भपतन भनेको कुनैपनि गर्भवती महिलाले आफ्नो मञ्जुरीमा सूचीकृत संस्थामा गई सूचीकृत स्वास्थ्यकर्मीको सल्लाह अनुसार सुरक्षित तरिकाबाट गरिने गर्भपतन हो ।
औषधि प्रयोग गरेर (मेडिकल अवोर्सन) र उपकरणहरूको प्रयोग गरेर (सर्जिकल अवोर्सन) गरी गर्भपतन मुख्यतया दुई तरिकाबाट गराउन सकिन्छ । सकेसम्म गर्भपतन नगराएको राम्रो । यदि गराउनै पर्ने अवस्था आएमा आवश्यकता अनुसार सुरक्षित रुपमा दुवै तरिका प्रयोग गर्न सकिन्छ ।
नेपालमा गर्भपतन गराउने वा नगराउने स्वयम् महिलाले निर्णय लिन सक्छिन, जुन अरू देशमा छैन । सन् २००२ मा गर्भपतनलाई कानूनी मान्यता दिईएको थियो, जुन पहिलो त्रैमासिक गर्भपतन सेवा हो ।
पहिलो गर्भपतन सेवा २००४ मा दिइएको थियो । त्यसरी विस्तार गर्ने क्रममा सन् २००७ देखि दोस्रो त्रैमासिक गर्भपतनको सेवा सुरू भयो ।
गर्भपतनले कानुनी मन्यता पाउनुभन्दा पहिला मातृ मृत्युदर ५३९ प्रतिहजार थियो । कानुनी मान्यता पाइसकेपछि अहिले मातृ मृत्युदर १५१ प्रतिहजार रहेको छ । यसलाई अझै घटाउने उद्देश्य रहेको छ । सुरक्षित गर्भपतनको कारणले यो सम्भव भएको छ । अझैपनि ५.२७ प्रतिशत मातृ मृत्युदर असुरक्षित गर्भ पतनको कारणले भएको छ ।
अहिले गर्भपतनको लागि नेपालको कानुनले विभिन्न सीमाना वा सर्त तोकेको छ । पहिला १२ हाप्ता भित्रमा महिलाले आफ्नो इच्छा अनुसार गर्भपतन गराउन सक्छिन् ।
अर्को गर्भवती महिलालाई गर्भको कारणले जीवन नै जोखिम भएमा वा शारीरिक तथा मानसिक स्वस्थ्यमा असर गर्ने अवस्था भएमा वा विकलाङ्ग तथा असामान्य बच्चा जन्मिने सम्भावना भएमा, जबरजस्ती करणी वा हाडनाता करणी भएमा, महिलालाई निको नहुने दिर्घ रोग लागेमा, भ्रूणमा कुनै कमी कमजोरी वा जन्मेर पनि बाँच्न नसक्ने अवस्था भएमा २८ हप्तासम्म गर्भवती महिलाको मञ्जुरी गर्भ पतन गराउन सकिन्छ । तर, लिङ्ग पहिचान गरी वा महिलालाई कुनै करकाप वा लोभलालचमा पारी गर्भपतन गराउन पाइँदैन ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार १५ देखि १९ वर्षका किशोरीहरू मध्ये प्रतिवर्ष ३० लाख किशोरीहरूले असुरक्षित गर्भतन गराउने गरेको छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा हेर्नु हुँदैन । यो गलत हो । जति सहज रुपमा हामीले गर्भपतन गराउँछौँ, यसको जटिलता पनि त्यति नै छ ।
असुरक्षित गर्भपतन गराउँदा विभिन्न किसिमका समस्याहरू आउँछन् । बढी रगत बग्ने भएर रगत चढाउनु पर्ने हुन्छ । इन्फेक्सन भएर कडा एन्टिबाइटिक चडाउनु पर्ने हुन्छ । जसले भविष्यमा असर देखापर्ने सक्छ । कहिले त आइसियुमा नै भर्ना गर्नुपर्ने पनि हुनसक्छ । असुरक्षित ठाउँमा गर्भपतन गराउँदा पाठेघरमा प्वाल पर्ने र पाठेघर नै निकालेर फाल्नुपर्ने, पछि गएर बाँझोपनको समस्या आउने, आन्द्रामा असर पर्ने तथा अन्य अङ्ग पनि अङ्गभङ्ग हुने वा महिलाको मृत्यु हुने जस्ता जोखिम हुन्छ ।
सकेसम्म गर्भपतन गराउने अवस्था आउन दिनु हुँदैन । यदि गराउनै पर्ने भएमा सुरक्षित स्थानमा गएर सुरक्षित तरिकाले गर्भपतन गराउनु पर्छ ।
(डाक्टर भण्डारी स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुन् ।)