

काठमाडौं । देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मौसम विभागले देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्थापनसहित तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट दुर्घटना, चोटपटक र जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ । साथै, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ ।
सम्भावित विपद्का घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन, एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय तथा सञ्चालन गर्न र आवश्यकताअनुसार संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
वर्षाका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति सतर्क रहँदै विपद्का समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वतयारी गर्न मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।



