काठमाडाैं- नेपाल क्यान्सर हस्पिटल फार्मेसी विभागले विश्व फार्मेसी दिवस मनाएको छ । ‘फार्मासिस्ट विश्वव्यापी स्वास्थ्य आवश्यकता’ भन्ने नारासहित विभागले दिवस मनाएको हो । हरेक वर्ष सेप्टेम्बर २५ तारीखका दिन यो दिवश मनाउने गरिन्छ ।
दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको अस्पतालले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी हस्पिटलका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले आफ्नो अनुपस्थितिमा शुभकामना संदेश पठाएका थिए । उनले सन्देशमार्फत फार्मेसी सम्पूर्ण चिकित्सा क्षेत्रको मुख्य आधार भएकोले सम्पूर्ण उपचार प्रणालीमा फार्मेसीको महत्वपूर्ण योगदान रहने बताएका थिए ।
यस्तै हस्पिटलका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरेले हस्पिटलले ठूलो मात्रामा संवेदनशील औषधीको बिक्री वितरण गर्दै आएको वास्तविकता व्यक्त गर्दै सामान्य तथा असामान्य अवस्थामा पनि फार्मेसी कर्मचारीहरु बिचलीत नभई हस्पिटलमा गरेको सेवा अनुकरणीय रहेको बताए ।
त्यस्तै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले फार्मेसी सेवा चिकित्सा सेवाको अभिन्न अंग रहेको बताउँदै यस हस्पिटलका सबै फार्मेसी कर्मचारीहरुको लगनशीलता र कर्तव्यनिष्ठाको प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रममा कर्मचारीद्वारा कविता बाचन तथा गीत गायन पनि गरिएको थियो । फार्मेसी दिवसको उद्घाटन पानसमा दियो बालेर गरिएको थियो भने कार्यक्रमको अन्त्यमा केक वितरण गरिएको थियो ।
नेपाल क्यान्सर हस्पिटलका फार्मेसी विभाग प्रमुख पंकज वैद्यले स्लाइड प्रस्तुत गर्दै मन्तव्य राखेका थिए । सिनियर क्लिनिकल फार्मेशिष्ट पुष्कर कुँवरले पनि मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन फार्मासिष्ट बर्षा पौडेलले गरेकी थिइन् ।