

महिनावारी हुँदा पेट दुख्ने समस्या सबैमा हुन्छ । तर किन दुख्छ भन्ने कुरामा धेरैजसो अनविज्ञ छौँ ।
पेट किन दुख्छ भनेर थाहा पाउन पहिले हामीले महिनावारी किन हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । हाम्रो पाठेघरभित्र बच्चा बस्ने ठाउँमा हाम्रो महिनावारीपछि हर्मोनको कारणले एउटा सतह बढ्दै जान्छ ।
स्त्री तथा निसन्तानपन विशेषज्ञ डा. स्वस्ती शर्माका अनुसार महिला गर्भवती हुँदा त्यो सतहबाट बच्चाले खाना पाउँछ । गर्भवती भएन भने बाक्लो भएको सतह टुक्रिएर बाहिर आउँछ, जसलाई हामी रजस्वाला अथवा महिनावारी भन्छौँ ।
‘त्यो बाक्लो भएको सतह टुक्रिएपछि बाहिर निस्किनको लागि पाठेघर खुम्चिने तथा फुक्ने हुन्छ । यसरी पाठेघर खुम्चिने फुक्ने गर्दा हामीलाई पेट दुख्छ’ उनले भनिन्, ‘व्यक्ति अनुसार हर्मोनमा आउने परिवर्तन फरक हुने हुँदा कसैलाई बढी त कसैलाई कम दुख्ने हुन्छ ।’
उनका अनुसार प्राथमिक तहको पेट दुखाई महिनावारी भएको कारणले मात्रै हुने हो । अर्को एन्डोमेट्रेसिस हुने, पाठेघरमा मासु पलाउने लगायतका कारणले पेट दुख्ने हुन्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्ने उनको सुझाव छ ।
‘रगत बगेसम्म सामान्य दुखाइ हुन्छ । सधारणतया १-२ दिन दुखेर कम हुनु महिनावारीको लक्षण हो । यसमा डराउनु पर्दैन, तर ४-५ दिनसम्म अत्यधिक दुख्ने, पेन किलर खाँदा पनि कम नहुने भयो भने त्यो महिनावारी भएको कारणले मात्रै दुखेको होइन । यसमा अरूपनि समस्या छ भनेर बुझ्नुपर्छ । तर यो आणुवांसिक गुण भने होइन’ डा शर्माले भनिन् ।
साधारणतया महिनावारीको समय आउन लागेपछि रिस उठ्ने, झर्को लाग्ने हुनु सामान्य रहेको उनी बताउँछिन् । यो समयमा हाम्रो शरीरमा हर्मोनको कमी हुन्छ । जसको कारणले रिस उठ्ने तथा पिरो तथा अमिलो खान मन लाग्ने, एक्लै बस्न मन लाग्ने, रून मन लाग्ने आदि पनि हुन्छ ।
२५-४० दिनसम्मको महिनावारी सामान्य मानिन्छ । अण्डा कति समयमा बन्छ भन्ने कुराले महिनावारी ढिलो हुने वा छिटो हुने भन्ने हुन्छ । कसैको अण्डा छिटो बन्छ र छिटो महिनावारी हुन्छ । कसैको अण्डा ढिलो बन्छ र ढिलो महिनावारी हुन्छ । छिटो महिनावारी भयो भने छिटो बच्चा बस्ने र ढिलो महिनावारी भयो भने ढिलो बच्चा बस्ने सम्भावना रहेको भन्दै डा. शर्माले धेरै छिटो वा धेरै ढिलो महिनावारी भएमा चिकित्सकसँग जँचाउन सुझाव दिएकी छिन् ।
अत्यधिक पेट दुखे के गर्ने ?
उनी महिनावारी भएको समयमा खानपानमा विशेष ध्यान दिनुपर्ने बताउँछिन् । पानी बढी पिउने, पेनकिलर खाने, चिल्लो पिरो कम खाने, कसरत गर्ने, हट ब्यागमा पानी राखेर सेक्ने लगायतका कार्य गर्नुपर्ने उनको सुझाव छ ।


