काठमाडौं, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नाक, कान, घाँटीको उपचार सेवालाई प्राथमिकतामा राख्न नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।
शुक्रवारबाट राजधानीमा सुरु भएको नाक, कान, घाँटीको चिकित्सकहरुको संस्था सोसाइटी अफ ओटोल्यारिंगोलोजिस्ट अफ नेपालको नवौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पौडेलले नाक, कान, घाँटीको उपचार सेवा, प्रविधिको प्रयोग र जनशक्ति व्यवस्थापनमा थप स्पष्टता आवश्यक भएको बताएका हुन् । नाक, कान, घाँटीको चिकित्सकहरुको सम्मेलनले उक्त विधाको उपचार प्रणालीमा सुधार ल्याउन आवश्यक पर्ने नीतिगत सुधारका लागि खाका पेश गर्नपनि मन्त्री पौडेलले अनुरोध गरेका छन् ।
सम्मेलनको कार्यक्रममा सोसाइटीका अध्यक्ष डा. दीपेन्द्र श्रेष्ठले नेपालमा नाक, कान, घाँटीको उपचार सेवा विस्तार भएको र नविनतम प्रविधिको प्रयोग भइरहेको बताए । डा. श्रेष्ठले सरकारका तर्फबाट नाक, कान, घाँटीको उपचार सेवालाई उचित प्राथमिकतामा नराखिएको भन्दै गुनासो गरे । कार्यक्रममा सोसाइटीका महासचिव डा. योगेश न्यौपानेले (सोल) ले गरिरहेका विभिन्न गतिविधिबारे जानकारी दिए । सोलको यो नवौं राष्ट्रिय सम्मेलन हो ।
शनिवारसम्म चल्ने सम्मेलनमा देश र विदेशका दर्जनौं विशेषज्ञले कार्यपत्रहरु पेश गर्नेछन् भने सयौंको संख्यामा सहभागी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीले वैज्ञानिक कार्यपत्रहरुमाथि छलफल गर्ने महासचिव न्यौपानेले स्वास्थ्य डायरीले जानकारी दिए ।
सम्मेलनमा मन्त्री पौडेलले गरेको सम्बोधन तल भिडियोमा प्रस्तुत गरिएको छ