

काठमाडाैं- मनसुन सुरु भएयता जापानिज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको पाइएकाे छ ।
यो रोगबाट कैलालीमा तीन र सुनसरीमा दुई तथा सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा एकएक जना गरी ९ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांकले जनाएकाे छ । यो वर्ष भदौको अन्तिम सातासम्म ५३ जनामा यो रोगको संक्रमण देखिएको छ ।
गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलिएकाहरू छन् । संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका छन् । प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने बताइएको छ ।
जापानिज इन्सेफलाइटिस संक्रमति लामखुट्टेले टोके मानिसमा यो रोगको संक्रमण हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यो रोग सार्छ । यो भाइरस भने सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ । यस्ता पशुपन्छीलाई लामखुट्टेले टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ। तर मानिसबाट मानिसमा यो रोग सर्दैन ।



