जुम्ला- जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ । प्रतियोगितामा मदन भण्डारी मेडिकल कलेज द्वितीय भएको छ । मदन भण्डारी प्रतिष्ठानले ७५ हजार प्राप्त गरेको छ ।
यसैगरी, ५० हजार राशीसहित तेस्रो स्थान किष्ट मेडिकल कलेज रहेको छ । भदौ १६ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कर्णाली प्रतिष्ठानसहित ६ वटा प्रतिष्ठान तथा मेडिकल कलेज सहभागी भएको थियो । प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वाधिक २१ पदक जितेको आयोजकले जनाएको छ ।
जसमा ११ विधामा स्वर्ण पदक, ७ विधामा कास्य पदक, ३ विधामा रजत पदक जित्न सफल भएको छ । खेल संयोजक विवेक पुन मगरका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले मकवानपुरले दुईवटा स्वर्ण, एक कास्य र दुई रजतमै जित्न सफल गरेको छ ।
कुल ६ पदक जितेको किस्ट मेडिकल कलेज ललितपुरले एक स्वर्ण, दुई काँस्य र तीन रजत पदक जित्न सफल भएको हो । खेल प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजले एक स्वर्ण, दुई रजत र एक काँस्य पदक पाएको छ । यसैगरी, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधामले तीन रजत र तीन काँस्य पदक जित्दै चौथो स्थान हासिल गर्न सफल भएको छ ।
विजेता टिम र खेलाडिलाई प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा. मंगल रावलसहितका अतिथिहरुले चेक, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।