सुर्खेत- सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ।
केन्द्रीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४-२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो ।
मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । उपचार सेवा भने असोज १३ बाट सुरु हुने भएको छ ।