नेपालगन्ज- झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् । भारतीय सीमाना नजिकको नरैनापुरमा ३ गेगली गाउँमा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको जानकारी आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितको टोली चिकित्सक र औषधी लिएर प्रभावित गाउँमा पुगेको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले प्रमुख जिल्ला अधिकारीसहित चिकित्सक र औषधी लिएर आफूहरुले अनुसन्धान सुरु गरिएको बताए ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको उनले बताए । गाउँमा केहीलाई ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्तो समस्या देखिएकोले चिकित्सकको टोलीले उपचार गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।