

काठमाडौं- इजरायली सेना र प्यालेस्टिनी लडाकु समूह हमासले गाजा पट्टीका लगभग ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन, क्षेत्रगत रुपमा गरी तीन दिनकालागि, सीमीत संघर्ष बिराम गर्न सहमति जनाएका छन् ।
प्यालेस्टिनी क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी रिक पिपरकोर्नले खोप अभियान यही आइतबारबाट सुरु हुने बताएका छन् । खोपकालागि स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि संघर्ष विराम गर्ने सहमति भएको उनले जानकारी दिए ।
सहमति अनुसार शुरुमा मध्य गाजामा तीन दिनकालागि अस्थायी रुपमा लडाई राोकिने छ र सो अवधिमा बालबालिकालाई खोप दिइनेछ ।
त्यसपछि खोप अभियान दक्षिणी गाजामा सर्नेछ, जहाँ अर्को तीन दिनकालागि लडाईं रोकिनेछ र बालबालिकालाई खोप दिइनेछ । त्यसपछि यो प्रक्रिया उत्तरी गाजामा सर्नेछ । आवश्यक भएमा प्रत्येक क्षेत्रमा मानवीय संघर्ष विरामको समय चौथो दिनसम्म विस्तार गर्ने सहमति समेत भएको बताइएको छ ।
डब्लुएचओले यही अगस्ट २३ मा गाजामा कम्तिमा एक बालकलाई टाइप २ पोलियो भाइरसका कारण पक्षाघात भएको पुष्टि गरेको थियो । गाजामा पोलियो देखिएको यो २५ वर्षपछिको पहिलो घटना हो ।



