काठमाडौँ- कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आजबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिए ।

वार्डहरूबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो ।

गएको वर्षको अनुगमन हुँदा अस्पतालले अटोक्लेभ मेसिन बिग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिबद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिबद्धता दोहोर्याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो ।
यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको थियो । अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको प्रतिक्रिया दिइन् ।







