

रुपन्देही- रुपन्देहीमा अनलाइनबाट मगाएकाे औषधि खाँदा तीन जना बिरामी परेका छन् । ताैल घटाउन लागि अनलाइनबाट अर्डर गरेको औषधि ‘गार्सिनिया कम्बोजिया’ सेवनले उनीहरू बिरामी परेका हुन् ।
बिरामीमध्ये एक जना दुई साताअघि, एक जना गत साता र एक जना आइतबार उपचार गराउन आएको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा.नन्दु पाठकले बताए । उनका अनुसार उपचारका लागि आएका बिरामीहरूले उक्त औषधि डेढ महिनादेखि सेवन गर्दै आएका थिए । उनले उक्त औषधिबारे अध्ययन गर्दा मलमा प्रयोग हुने रासायनिक पदार्थ ‘लिड’ मिसाएर बनाएको पाइएको बताए ।
जथाभावी औषधि खाँदा फोक्सो, मृगौलामा असर पर्ने उनले बताए । अनलाइनमा पाइने औषधि जथाभावी प्रयाेग नगर्न उनको सुझाव छ ।
सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पु, औषधिजस्ता वस्तुले विभिन्न खालका रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण गरेको अनुगमनको क्रममा पाइएको छ । त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरी समेत प्राप्त भइरहेकाले त्यस्ता भ्रामक विज्ञापनबाट बच्न विज्ञापन बोर्डले अनुरोध गरेको छ ।



