काठमाडाैं- अहिले तिजको माहोल सुरू भएसँगै दर खाने कार्यक्रम पनि चल्न थलेको छ । तिजमा महिलाहरु भेला भएर आफ्नाे पीर व्यथालाई एकैछिन भएपनि बिर्सेर विशेषगरी दुधबाट बनेका परिकारहरू खाने चलन परापूर्व कालदेखि चलेको हो । जुन तिजको ब्रत बस्ने अघिल्लो दिन खाने गरिन्थ्यो ।
तर, अहिले अलिक फरक अवस्था छ । तिज आउन केहिदिन अगाडिदेखि नै विभिन्न पार्टी प्यालेस वा एक अर्काको घरमा दर खाने गरेको देखिन्छ । त्यसरी जथाभावी खाँदा व्यक्तिलाई फूड पोइजन हुने र कसैको ज्यान समेत जाने गरेको पछ ।

यसरी खाँदा राम्ररी पकाएका र ताजा खाने कुरा खानुपर्छ । स्वस्थकर छ कि छैन भनेर बिचार गरेर मात्र खानुपर्छ । जस्तै हामीले ननभेज खाने कुरा वा मासु ल्याउँदा ताजा छ कि छैन, कति दिन फ्रिजमा स्टोर गरिएको छ भनेर बिचार गर्नुपर्छ ।

हामीले पिउने पानी कस्तो प्रयोग भएको छ, पिउने पानी शुद्ध छ कि छैन भनेर पनि बिचार गर्नुपर्छ । त्यस्तै खाना पकाउने ठाउँ सफा छ कि छैन, त्यो खाना राम्रोसँग पाकेको छ कि छैन, सलाद राम्रोसँग पखालेको छ कि छैन भन्ने कुराको ख्याल गर्नुपर्छ ।
दर वा पार्टीमा धेरै प्रकारको खाना हुन्छ । धेरै प्रकारको खानेकुरा एकैपटक खाँदा हाम्रो शरीरले पचाउन सक्दैन । पार्टी वा भोजमा जाँदा अन्य समयकाे भन्दा बढी खाने गरेको पाइन्छ । त्यसले गर्दा फूड पोइज हुन सक्छ । दरमा चिल्लो र मसलेदार खाने कुरा बढी खाइने भएकाले आफ्नो शरीरको रोग वा स्वास्थ्य विचार गरेर मात्र खानु उपयुक्त हुन्छ ।
(फिजिसियन डा. विकास शाहनीसँग गरेकाे कुराकानीमा आधारित )







